विश्वकपका लागि बेन स्टोक्सले सन्यास फिर्ता लिने, हसरंगाले सन्यास लिने
काठमाडौं । ओडीआई विश्वकप २०२३ नजिकै छ। भारतले आयोजना गर्न लागेको यो मेगा इभेन्ट अक्टोबर ५ बाट सुरु हुनेछ । तर यसअघि क्रिकेट जगतमा खेलाडीको सन्याससँग सम्बन्धित दुईवटा ठूला समाचार बाहिर आएका छन् ।
बेलायतबाट एउटा खबर आएको छ । जहाँ स्टार अलराउन्डर बेन स्टोक्सले आफ्नो टोलीलाई फेरि च्याम्पियन बनाउन एकदिवसीय क्रिकेटबाट सन्यास लिने निर्णय परिवर्तन गर्न सक्छन् । अर्थात् सन्यास तोडिएपछि उनी फेरि एकदिवसीय क्रिकेट खेलिरहेको देख्न सकिन्छ ।
दोस्रो खबर श्रीलंकाबाट आएको छ । यहाँ टिमका स्टार स्पिनर वानिन्दु हसरङ्गाको बारेमा अचम्मको खबर बाहिर आएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नम्बर १ बलर बनेका हसरंगाले अब टेस्ट क्रिकेटबाट सन्यास लिने योजना बनाएका छन् ।
रिपोर्टका अनुसार २६ वर्षीय हसरंगाले श्रीलंका क्रिकेट बोर्डलाई आफ्नो निर्णयबारे जानकारी गराएका छन् । उनले एकदिवसीय र टी–२० मा पूर्ण ध्यान दिन चाहेको बताए । यही कारणले टेस्ट क्रिकेटलाई अलविदा भन्न चाहेका छन् । हसरंगाले हालसम्म ४ टेस्ट खेल खेल्दै ४ विकेट लिएका छन् भने १९६ रन बनाएका छन् ।
बेलायती अखबार द टेलिग्राफका अनुसार बेन स्टोक्स यु-टर्नका लागि तयार छन्। उनी यस वर्ष भारतमा हुने विश्वकपमा इंग्ल्याण्डलाई सहयोग गर्न ओडीआईबाट सन्यास फिर्ता लिएर फर्कनेछन् ।
बेन स्टोक्सले इंग्ल्याण्डलाई २०१९ विश्वकपमा च्याम्पियन बनाएका थिए । यसपछि गत वर्ष अर्थात जुलाई २०२२ मा उनले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । भर्खरै सम्पन्न एशेज सिरिजपछि विश्वकप खेल्ने बारे सोध्दा स्टोक्सले अब आफू लामो बिदामा जान चाहन्छु र त्यस्तो कुनै योजना नभएको बताएका थिए ।
तर अब स्टोक्स इंग्ल्याण्डबाट खेल्न राजी भएका छन् । स्टोक्सले इंग्ल्याण्डका लागि हालसम्म १०५ एकदिवसीय खेलमा २९२४ रन बनाएका छन् ।







डिसी नेपाल







Facebook Comment