स्वार्थ पूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र हो : कांग्रेस नेता महर

डिसी नेपाल
५ भदौ २०८० ११:२६
32
Shares

जनकपुर। एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।

‘एमालेले संसद्‍मा  अवरोध गरेर जनतामाथि अन्याय गरेको छ। एमालेको अवरोधका कारण संसद‍्‍मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन। संसद् जनमतको कदर गर्ने थलो हो। कुनै असन्तुष्टि भए संसद‍्मा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ। सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो। एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो,’ महरले भने। एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् संसद्‍माथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ। ‘म ओली जीलाई प्रश्न गर्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र?’, महरले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उनले बताए।

महरले सुन तस्करी प्रकरणलाई राजनीतिक एजेन्डा बनाएर अनुसन्धान प्रक्रिया बिथोल्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको आरोप लगाए। ‘प्रतिपक्ष दलले सुन तस्करीको मुद्दालाई राजनीतिक एजेन्डा बनाएर संसद् अवरोध गर्नु उचित होइन। सरकारका निकायहरू छन्। उनीहरूले आफ्नो काम गरिरहेका  छन्। अनुसन्धानको सकारात्मक परिणाम आउला। प्रतीक्षा गरौं,’ उनले भने ।

उनले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरी रहेको छानबिनलाई बिचैमा राखेर अर्को छानबिन गराउँदा भएका प्रमाणहरू झन् नष्ट हुन सक्नेतर्फ सरकार सचेत हुनु जायज कुरा भएको बताए। दोषी जो सुकै भए पनि उम्किन नहुनेमा कांग्रेस प्रतिबद्ध रहेको महरको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.