विद्या भण्डारीलाई रोक्न भीम रावलसँग हात मिलाउँदै ओली
काठमाडौं। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति विद्या भण्डारीको मनशाय बुझेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नयाँ रणनीति तय गरेका छन्।
उनले भण्डारीको संभावित राजनीतिक पुनरागमन रोक्न एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ।
एमालेमा विद्या भण्डारीको पुनरागमन भए सर्वसम्मत नेतृत्व स्विकार्य हुने भन्दै केही नेताहरुले सक्रियता बढाएपछि ओली पछिल्लो समय सशंकित बनेका हुन्।
एमालेका महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य कर्ण थापा, नेता आनन्द पोखरेललगायत नेताहरु पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन आन्तरिक पहल गरिरहेका छन्।
उनीहरुले अन्य देशमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको नजिर दिँदै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन हुनुपर्ने अडानमा रहेको स्रोतले जनाएको छ।
एमाले स्थायी समिति सदस्य कर्ण थापाले सार्वजनिक रुपमा अन्य देशमा पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको जिकिर गर्दै भण्डारी पनि फर्किनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।
थापाको उक्त अभिव्यक्ति पछि अध्यक्ष ओली रुष्ट बनेको बताइएको छ। उनले गत सोमबार बसेको सचिवालय बैठकमा थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको एमाले स्रोत बताउँछ।
भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउर्ने कर्ण थापाको धारणा बुझेपछि अध्यक्ष ओलीले सार्वजनिक रुपमा सक्रिय राजनीतिमा फर्कन नहुने मत प्रकट गरेका छन्।
उनले एमालेद्वारा केही दिन अघि आयोजित पत्रकार सम्मेलनमा विद्या भण्डारीलाई इंगित गर्दै सम्मानित हैसियत धारण गरेकाले त्यसैको मर्यादा कायम गर्नुपर्ने धारणा राखेका थिए।
थापासँग चिढिएका ओलीले सुदूरपश्चिममा कर्ण थापा र भीम रावलको टसल रामैसँग बुझेका छन्। विगत एमाले हुँदै नेकपा कालमा समेत एक अर्का विरुद्ध उभिएका थापा र रावलबीच कटुतापूर्ण सम्बन्ध छ।
एकले अर्कासँग प्रतिस्पर्धात्मक सम्बन्ध भएका यी नेताद्वयको आआफ्नै गुट वितदेखि हालसम्मै कायमै रहेको छ। यही बुझेर रावललाई अघि सारेर एमालेमा भण्डारी पक्षीय नेताहरु तर्साउने दाउमा ओली लागेको एमाले स्रोत बताउँछ।
सोही कारण विगतदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको दशौं महाधिवेशनमा आफूलाई सर्वसम्मत बन्न नदिएरर आफ्नै विरुद्ध उम्मेदवारी दिएका पूर्वउपाध्यक्ष रावलसँग नजिकिएका हुन्।
लामो समयदेखि कटुतापूर्ण सक्बन्ध रहेको रावल ओलीका खास आलोचक भनेर एमालेमा चिनिन्छन्। उनले गत नेकपाकालमा एमालेको सरकारकै पालादेखि ओलीको सार्वजनिक रुपमा आलोचना गर्दै आएका थिए।
तथापि पछिल्लो विकसित राजनीतिक घटनाक्रमले रावलसँग सम्बाद गर्न बाध्य भएका छन्। केही दिन अघि थालेको रावलसँगको सम्बाद थापालाई साइजमा ल्याउन एमालेमा ओलीको नयाँ रणनीतिको रुपमा अथ्र्याइएको छ।
यसले एमालेमा भण्डारीको आगमन भए आफूले अर्को कार्यकाल अध्यक्ष बन्न नपाउने भयले ओलीले त्रसित रहेको बताइन्छ।
एमालेको ७० वर्षे उमेर हद हटाएर फेरि दोहोरिने दाउमा रहेका ओली भण्डारीलाई पार्टीमा फर्काएर नेतृत्व दिने केही नेताहरुको तयारी पछि रोक्न भगिरथ प्रयत्न गरिरहेका छन्।







डिसी नेपाल








Facebook Comment