व्याख्यात्मक घोषणा अमेरिकाले मान्दैन, एमसीसी कार्यान्वयनमा जान्छ : ओली
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन्।
एमसीसी सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको उनकाे भनाइ थियाे।
बुधबार सिरहाको सर्रे अम्बासमा सुरु हुन लागेको एमालेको सचिवालय बैठकमा सहभागी हुन विराटनगर आइपुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन्।
ओलीले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ/हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन।’
‘१२ बुदे व्याख्यात्मक घोषणाका सन्दर्भमा तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसीसीले मानिसकेको छ, सम्झौताको अंग हुन्छ भनेर संसदमा नै बोलेर नेपाली संसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र गलत प्रभाव पारेर पास गराउने बाटो लिनुभयो’ ओलीले भने।
आजदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ।
सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ। यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष आएका हुन्।
एमसीसी परियोजनाअन्तर्गत रातमाटे-लप्सीफेदी-हेटौंडा-नयाँ दमौली-नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गरिँदै छ। यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल-न्यु दमौली, न्यु दमौली-रातामाटे (नुवाकोट), रातमाटे-हेटौंडा र रातामाटे-लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ। यो प्रसारण लाइनको क्षमता ४ सय केभी हुनेछ।
त्यस्तै, रातामाटे, दमौली र बुटवलमा तीनवटा ४ सय केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन्। प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ। एमसिसीअन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ। यसअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ।







डिसी नेपाल








Facebook Comment