माओवादीकाे शुद्धिकरणका लागि रुपान्तरण अभियान सञ्चालनः वर्षमान पुन

डिसी नेपाल
१६ भदौ २०८० १२:३९
32
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीकोकाे शुद्धिकरणका लागि रुपान्तरण अभियान सञ्चालन गरिएको बताएका छन्।

उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे। देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए।

“समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ”, उपमहासचिव पुनले भने, “लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजानका लागि पार्टीले रुपान्तरण अभियान सुरु गरेको हो।”

नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’को आज गोँगबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताए। वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो ।

आजदेखि सुरु भएको अभियान देशभरका छ हजार सात सय ४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उनले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपमहासचिव पुरुषोत्तम सिंखडासहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

सो अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर र सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ को उद्घाटन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.