लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

डिसी नेपाल
२० भदौ २०८० ७:०१
256
Shares

रुपन्देही। नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्।

मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान आएको मतपरिणाम अनुसार अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन्। मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। रिजाल केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रदेश अध्यक्षमा निर्वाचनमा उम्मेदवारी दिएपछि चर्चामा आएका थिए।

त्यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन्। उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याए। उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन्। उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याए।

महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन्। उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याइन्। यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन्।

पदाधिकारीमा सचिव लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए। पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ। यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो।

मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो। विजयी उम्मेदारहरुलाई अहिले बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको छ। पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.