आफूले नसकेपछि संसदीय व्यवस्थालाई दोष, राजनीतिक पुनरोदय गर्ने बामदेवको झिंगेदाउ

डिसी नेपाल
२१ भदौ २०८० १२:३९
184
Shares

काठमाडौं। एक समय नेपाली राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ ल्याउन समेत सक्षम मानिएका नेता बामदेव गौतम पछिल्लो समय मूलधारको राजनीतिबाट पाखा पर्दै गएका छन् ।

स्थापित पार्टी नेकपा एमालेलाई दुई टुक्रा पार्नेदेखि एमाले माओवादीलाई मिलाएर नेकपा बनाउने र नेकपाभित्र वैचारिक विभाजन ल्याउनेसम्ममा उनको भूमिका उल्लेख्य थियो । तर, अहिले बामदेव अस्थिर छन् ।

उनका राजनीतिक कदम अडानविहीनताको सिकार बन्दै गएका छन्, अभिव्यक्ति पनि अविश्वसनीय बन्दै गइरहेको ऋ । र, यही सिलसिलामा पछिल्लो समय उनले फेरि नयाँ राजनीतिक फण्डाको सूत्रपात गर्दै संसदीय व्यवस्था नै असफल भएकाले नयाँ विकल्प खोज्नुपर्ने उद्घोष गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित उनको दल नेकपा (एकता अभियान)को पत्रकार सम्मेलनमा अहिलेको संकटको मूल कारण वर्तमान संसदीय व्यवस्था भएकाले यसको विकल्प खोज्ने धारणा व्यक्त गरेका थिए ।

विगतमा एमाले र माओवादी मिलेर बनेको नेकपाकालमा उनकै अस्थिर र ढुलमुले चरित्रले तत्कालीन नेकपा विभाजन हुन पुगेको उनी आफैंले स्वीकार गरिसकेका छन् । नेकपा विभाजनमा आफ्नो भूमिका रहेको केही समयअघिको पत्रकार सम्मलेनमा उनको स्वीकारोक्ति थियो ।

नेपालको राजनीतिमा वामदेवको योगदान कम्युनिष्ट आन्दोलनमा अधिक छ । तथापि उनको पछिल्लो आधारविहीन तर्क र अस्थिर राजनीतिक चरित्रले उनी आफैं गुमनाम हुँदै विश्वसनीयता गुमाउँदै गएका छन्।

उनको आवश्यकता उनका समकालीन नेताहरु कसैले पनि देखेका छैनन् । सोही कारणले उनलाई पार्टीमा भित्र्याउन कोही पनि लालायित छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीमा भित्र्याउन कुनै चासो नदेखाएपछि बामदेव माधव नेपालको एकीकृत समाजवादीमा जाने तयारी गरेका थिए ।

तर, त्यही समयमा एमालेको कार्यकारी भूमिकामा ७० वर्षे उमेरहद हटाइएपछि माधव नेपालको पार्टीमा जाने तयारी गरेका वामदेव पछि फर्कदै फेरि एमालेमा जाने दाउका साथ केपी ओलीसँग छलफल गर्न पुगेका थिए ।

ओली अनुदार देखिएपछि अहिले फेरि माओवादी केन्द्र या एकीकृत समाजवादीमै फर्कने आशयको अभिव्यक्ति दिन सुरु गरिसकेका छन् ।

विगतको गौरवशाली इतिहास आफ्नै अस्थिरताले धुमिल बनाउँदै लगेका वामदेव सांसद मोहले तत्कालीन नेकपाकालमै राष्ट्रपतिबाट मनोनित हुँदै राष्ट्रियसभाको सदस्य बनेका हुन् ।

जहाँ पनि आफूलाई केन्द्रमा राख्नैपर्ने उनको स्वभावले दिनानुदिन अविश्वसनीय राजनीतिक पात्रको रुपमा आफूलाई परिचित गराउँदै लगेका छन् । अहिले त उनलाई विश्वास गर्ने र उनको अभिव्यक्तिको चर्चा समेत हुन छाडिसकेको छ ।

प्रत्येक पत्रकार सम्मेलनपिच्छे फरक अभिव्यक्ति दिने वामदेवले बुधबारको पत्रकार सम्मेलनमा व्यवस्था नै असफल भएको आरोप लगाए । जबकि उनी आफू पनि यही व्यवस्थामा पटक पटक गृहसहित उपप्रधानमन्त्री भइसकेका हुन् ।

व्यवस्थाबाट लाभ लिइरहँदा उत्कृष्टताको उपमा दिने गौतम आफू शक्तिहीन भएपछि व्यवस्था बदल्ने अभिव्यक्ति दिँदै अस्थिरताको अर्को चरणमा प्रवेश गर्न पुगेका छन् ।

उनले बारम्बारको अस्थिर चरित्रले सबैजसो दलहरु दिक्क बनेर पार्टीमा अस्थिरता सिर्जना गर्ने भयले उनलाई कसैले पनि पार्टीमा भित्र्याउने इच्छा गरेका छैनन् ।

तर, गौतम भने नयाँ नयाँ फण्डाबाट राष्ट्रिय राजनीतिमा पुनरोदय हुने दिवास्वपन देख्न छाडेका छैनन् । त्यसैको पछिल्लो कडीका रुपमा उनले संसदीय व्यवस्था असफल भएको भन्दै आफ्नो गुमेको विरासत फर्काउने ध्याउन्नमा व्यस्त देखिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.