सभामुख घिमिरे र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
काठमाडौं। सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन्।
सिंहदरवारस्थित सभामुख कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ।
भेटमा सभामुख नेपालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे।
‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी लागेको छ,’ उनले भने।
नेपाली विद्यार्थीहरुको ठूलो संख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिएका थिए।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराइन्।
राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराइन्। उनले आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी थिइन्।







डिसी नेपाल








Facebook Comment