गगनलाई प्रश्न : नेताहरुलाई सार्वजनिक स्थलमा हिँड्न नसक्ने परिस्थिति कसले बनायो ?
काठमाडौं। बिहीबार व्यवस्थापिका संसदमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले सडकमा हिँड्न नसक्ने परिस्थिति निर्माण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए।
कसैले आगो लगाउछु भन्छन्, कसैले खुकुरी प्रहार गर्छन् भन्दै उनले सडकमा हिँड्न नसकिने अवस्था आएकाले सुरक्षाको व्यवस्था गर्न माग गरेका थिए।
काठमाडौं महानगरका प्रमुख बालेन शाहले केही दिन अघि दिएको आपत्तिजनक अभिव्यक्तिप्रति पनि संकेत गर्दै आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणलाई लक्षित गर्दै असुरक्षा बढेको आशयले हिड्न कठिन भएको अभिव्यक्ति उनले दिएका हुन्।
उनले सार्वजनिक स्थलमा नेताहरुलाई हिँड्न असुरक्षा बढेको अभिव्यक्ति दिँदै गर्दा त्यसको कारण खोज्ने प्रयत्न पनि अब नेताहरुले गर्नुपर्दछ।
यद्यपि यसो भन्दै गर्दा बुधबार कांग्रेस नेता महेन्द्र यादवमाथि भएको अपराधिक कार्यलाई प्रश्रय दिन खोजिएको कदापी होइन। यादवमाथि गरिएको आक्रमण निन्दनीय छ। कानून हातमा लिएर भौतिक आक्रमणमा उत्रने अधिकार यो देशमा कसैलाई पनि छैन।
तर, जनताको चुलिँदो आक्रोशलाई मत्थर पार्ने दायित्वबाट विमुख हुने अधिकार पनि जनतालाई आश्वासनको पुलिन्दा बाँडेका सार्वजनिक पदधारण गरेका नेताहरुलाई पनि छैन।
वर्तमान नेताहरुप्रति असन्तुष्ट बन्दै सामान्य जनता भौतिक प्रतिवादमा उत्रने परिस्थितिको सर्जक को हो? यसबारेमा समीक्षा गर्न महामन्त्री थापाले जरुरी ठानेनन् या उनले आफ्नो बचाउ गर्दै परिणामलाई दोषारोपण गर्न उद्धत देखिए।
हरेक घटनाको कारण पछि परिणाम सतहमा आउने गर्दछ। त्यसको दीर्घकालीन निराकरण गर्न सुरुमा कारण पहिल्याउनु पर्दछ। तर नेपालमा परिणामको बचाउको लागि कारण जहिल्यै पनि नजरअन्दाज गरिँदै आइएको छ। र, परिणाम आफ्नो प्रतिकूल भए त्यसलाई दबाउन भरमग्दुर प्रयत्न गर्ने प्रवृत्ति व्याप्त छ।
पछिल्लो नेताहरुमाथि असुरक्षा बढ्दै जानुको कारण उनीहरुले जनताप्रति गरेको अनुत्तरदायी व्यवहार नै प्रमुख कारण हो। यसको गम्भीर समीक्षा नेताहरुले गर्नुपर्दछ। नेताहरुले आफ्नो कमजोरी केलाउँदै त्यसको निवारण गर्ने साहस पैदा गर्नै पर्दछ।
आफ्नो कमजोरीको आत्मबोध नगरेरै भ्रमपूर्ण अभिव्यक्तिले जनताको आँखामा छारो हाल्न खोजियो भने अझै यो भन्दा ठूलो दुर्गति र दुर्घटना व्यहोर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।
मुलुकमा अनेकौं व्यवस्था फेरिए पनि आधारभूत वर्गले कहिल्यै यसको अनुभूति गर्न पाएनन्। उनीहरुले देशमा सरकार परिर्वन हुँदा त्यसको अपनत्वबोध गर्ने अवसरबाट सदैब बञ्चित हुन विवश छन्।
राज्यमा पहुँच भएकाहरको एकछत्र हालीमुहालीले सर्वसाधारण आक्रान्त छन्। यसको पछिल्लो उदाहरण केही समयअघि संसद भवन अघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई लिन सकिन्छ।
मुलुकको सेवाप्रवाहमा भएको डिलासुस्ती र बेथितिको उपज व्यावसायिक असफलता व्यहोर्दै आफ्नो इहलिला उनले समाप्त पारेका थिए।
उनले आफू कसरी राज्यबाट प्रताडित भए भन्ने लामै फेहरिस्तसहित आत्मदाह गर्नुपरेको बाध्यात्मक अवस्था सार्वजनिक गरेका थिए।
नागरिकहरुलाई सामान्य सुशासनको प्रत्याभूति गर्न नसकेको सरकारले समाजवादका चर्का भाषण अब अविश्वसनीय मात्रै होइन, प्रतिवादयोग्य साबित भइसकेको छ।
जनतामा सरकारको सामान्य अनुभूती दिन नसक्ने तर अमूक आश्वासनको पुलिन्दाले जनता आजित भइसकेका छन्। उनीहरु वर्षौदेखि नेताहरुको आश्वासनमुखी प्रवृत्तिबाट वाक्क बनिसकेका छन्।
यसैको प्रतिफल सार्वजनिक स्थलमा नेताहरुमाथि अभद्र व्यवहारको श्रृंखला सुरु हुने संकेत देखिएको छ। त्यसैको उपज बुधबार कांग्रेस महामन्त्रीमाथि भएको घटनालाई लिन सकिन्छ।
समयमै यसको निराकरण गर्न राज्यसञ्चालक नसच्चिने हो भने भुसको आगोझैं चौतर्फी फैलन र थप विकराल स्थिति आउनेतर्फ नेताहरु सचेत हुन जरुरी छ।
कांग्रेस महामन्त्री थापाले सार्वजनिक स्थलमा हिँड्न सुरक्षा माग्दै गृहमन्त्री असमक्ष रहेको अभिव्यक्ति दिए। देशका अमुक नेताको सुरक्षा प्रहरी प्रशासनले गर्दैमा राज्य सुरक्षित भएको ठान्न सकिन्छ र?
यहाँ सवाल एकाध व्यक्तिको सुरक्षाको होइन सिंगो देशवासी सुरक्षित हुने अवस्था राज्यसञ्चालहरुले प्रदान गर्ने हो। यही अपेक्षा गर्दागर्दै जनताले जुग बिताइसके।
उनीहरुको आशामा निरन्तर तुषारापात भइरहेको छ। यसमा राज्यसञ्चालकहरुको ध्यान कहिले जान्छ? यसको जवाफ जनताले खोजिरहेका छन्।
उनले राज्यको सुरक्षा निकायको तालुक मन्त्रालय सम्हालेका गृहमन्त्रीसँग सुरक्षा व्यवस्थाको माग गर्नु आफ्नै कमजोरीको स्वीकारोक्ति हो।
जनताका ज्वलन्त समस्या समाधानमा अग्रसरता देखाउँदै एकाकार हुने हो भने यसरी महामन्त्री थापाले सरकारसँग सुरक्षाको याचना गर्नु पर्दैन। जनता आफैंले नेताहरुलाई सुरक्षा प्रदान गर्नेछन्।







डिसी नेपाल








Facebook Comment