विवादमा ‘एक भगवत् गीता’

डिसी नेपाल
२४ भदौ २०८० ७:५६
200
Shares

काठमाडौं। विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।

निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ। चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताए। उनले भने, “बोर्ड र मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौं। जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौं। निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो।”

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्‍याएको दाबी गरिएको छ। “श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ। त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं। नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन”, निवेदनमा उल्लेख छ।

निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताए। “हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायांकन गर्‍यौं। अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायिक क्षति हुन्छ”, निर्माता थापाले भने, “हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्यांकन गर्न जाँचपास समिति छ। उहाँहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु। यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.