जातीय र धार्मिक द्वन्द्व हुन कदापी दिने छैनौं : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
२४ भदौ २०८० १७:१९
116
Shares

मकवानपुर। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन्।

आज हेटौंडामा आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे।

“हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री दाहालले भने।

संघीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

“वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्र्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ”, उनले भने।

सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु जनाताको हितका लागि एकताबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको बताए। कम्युनिष्टहरु एक–अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का जनतालाई पर्ने उनको भनाइ छ।

पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिए।

“हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो”, उनले भने।

अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे। उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए।

जनता समाजवादी पार्टीका नेता शिवलाल थापा मगर पहिचानबादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे। संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए।

उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.