एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र, नेतृत्वमा पाँच जनाको दाबी
धनुषा। नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ। नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन्। यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकांक्षी देखिएका छन्।
आठ जिल्ला रहेको यस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ। मधेसका एक सय ३६ पालिका, २३ जनसंगठन, आठ प्रदेश विभागबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ।
प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेल र सुमन प्याकुरेलले प्रचारप्रसार गरिरहेका छन्। एमाले सचिव एवं प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्वका लागि आकांक्षी नेतामध्येबाट सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास गरिरहेको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशका इञ्चार्ज रघुवीर महासेठले पनि मधेसमा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन्। दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहे पनि आकांक्षी नेता दुई धारमा बाँडिएकाले निर्वाचन हुने सम्भावना पनि रहेको शर्माको भनाइ थियो।
उनका अनुसार अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने रहेको छ।
जनकपुरधामको महेन्द्रनारायणनिधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment