सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

डिसी नेपाल
१२ कार्तिक २०८० ६:५५
84
Shares

तनहुँ। दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास-१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।

“दशैंमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍याे”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, “त्यही ऋण खर्च जुटाउन यता आएको हुँ। आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला।”

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए। मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ।

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन्। प्रायः सुन खोज्न जाँदा श्रीमान्-श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ। सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ।

घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए। बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन संकलन हुनेसमेत कमलले जानकारी दिए।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए। करिब ४५/५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ।

“अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु”, उनले भने, “माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५/३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु। मेहनतको कुरा हो यसै भन्न सकिँदैन।”

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ। सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए। यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *