अमेरिकालाई एनटीपीपी र जीएसपी सुविधा थप्न मन्त्री साउदको आग्रह
वासिंगटन डिसी। परराष्ट्रमन्त्री श्री एनपी साउदले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) र जीएसपी सुविधालाई नयाँ थप गरी पुनः आधिकारिकता र विस्तार गर्न अमेरिकालाई आग्रह गरेका छन्।
अक्टोबर ३० तरिक सोमबार वासिङ्टन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ताका क्रममा उनले सो आग्रह गरेका हुन्।
वासिंगटन डिसीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, मन्त्री साउदले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुथप गरी नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटिपीपी) र जीएसपी सुविधाको पुनः अघि बढाउन र विस्तार गर्न अमेरिकालाई आग्रह गरे।
दूतावासका अनुसार, भेटका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गरेका थिए। नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिका सन्दर्भमा नेपालको विकासका प्राथमिकताबारे प्रकाश पार्दै मन्त्री साउदले व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, सूचना प्रविधि क्षेत्रको विकास, नयाँ प्रविधिलगायत क्षेत्रमा अमेरिकाबाट थप सहयोग आवश्यक रहेको बताएका थिए।
मन्त्री साउदले हालै युएसएआइडी र मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत अमेरिकी सहयोगलगायत नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए। भेटका क्रममा दुवै पक्षले एमसिसीअन्तर्गतका परियोजनाको समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री ब्लिन्केनले लोकतान्त्रिक शासन व्यवस्थासुदृढीकरणमा नेपालले गरेको प्रगतिको सराहना गरे साथै अमेरिकी सरकारले नेपाललाई सबल र समृद्ध लोकतन्त्रका रुपमा हेर्न चाहेको बताएको दूतावासको विज्ञप्तिमा उल्लेख छ। अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपालको विकास प्रयासमा अमेरिकाले निरन्तर सहयोग गर्ने विश्वास पनि दिलाएका थिए।
दुवै पक्षले बहुपक्षीय मञ्चमा नेपाल-अमेरिका सहयोग, मध्यपूर्वमा जारी अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलामा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेका थिए।
मन्त्री साउदले निकट भविष्यमा उपयुक्त समयमा नेपालको औपचारिक भ्रमणका लागि ब्लिन्केनलाई निमन्त्रणा समेत दिए । बैठकअघि विदेशमन्त्रीले स्टेट डिपार्टमेन्टमा अतिथि पुस्तिकामा हस्ताक्षर गरेका थिए।
भेटमा मन्त्री साउदसँगै राजदूत श्रीधर खत्री, मन्त्रालय र दूतावासका अन्य वरिष्ठ अधिकारी सहभागी थिए भने विदेशमन्त्री ब्लिन्केनका साथमा सहायक विदेशमन्त्री डोनाल्ड लु, राजदूत डीन थोम्पसन र विदेश विभागका वरिष्ठ अधिकारी सहभागी थिए।
सोही साँझ अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले परराष्ट्रमन्त्रीको सम्मानमा स्वागत समारोहको आयोजना गरेका थिए । सो समारोहमा ह्वाइट हाउस, डिपार्टमेन्ट अफ स्टेट, युएसएआइडी, एमसिसीलगायत अमेरिकाका विभिन्न निकायका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका सदस्य तथा नेपाली अमेरिकी समुदायका प्रतिनिधिको उपस्थिति रहेको दूतावासले जनाएको छ।
द्विपक्षीय भ्रमणका लागि परराष्ट्रमन्त्री सोमबार बिहान वासिङ्टन डिसी आइपुगेका थिए।







डिसी नेपाल








Facebook Comment