नेपालमा गुटरेजका तीनवटा तीर कहाँ कहाँ लागे ?

176
Shares

पोर्चुगलमा एउटा प्रख्यात कहावत छ रे – “एउटा ढुंगाले ३ खरायोको सिकार गर्ने।”

युएन महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण एक अवसर भए पनि उनले मुख्यतया तीनतिर तीर प्रहार गरेका छन्। विश्वका विभिन्न भागहरुमा आपसी युद्धहरु चर्किरहेका बेला उनको नेपाल भ्रमणको रोजाइ अर्थपूर्ण थियो।

यो रोजाइमा क्षणिक राजनीतिक लाभ लिन खोज्ने हाम्रा देशका नेताहरुको अकर्मण्य तरिका घृणालायक भए पनि नेपालको भूमिमा उभिएर उनले दिएका सन्देशहरुले जलवायु परिवर्तन, विश्व शान्ति र नेपालकै शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउने कुरामा मद्दत गर्न सक्छ।

सगरमाथाको हिउँ हेरेपछि

७४ बर्षीय महासचिवले जोखिम उठाएर सगरमाथाको फेदी ईम्जा ताललाई चक्कर लगाउनु भयो। सगरमाथालाई घुँडा टेकेर झ्यालबाट आँखा तानी तानी हेर्नुभयो।

लाग्दथ्यो उहाँलाई सगरमाथाको चुच्चुरोमा टेकेर बिश्वलाई कार्वन उत्सर्जन र तीब्र गतिमा बढिरहेको तापक्रम घटाउन गम्भीर सन्देश दिने इच्छा थियो। जलवायु परिवर्तनको मुद्दालाई उहाँले लोकप्रियताको लागि होइन, अन्तस्करणदेखि गम्भीरतापूर्वक लिएको देखियो।

‘लौ हेर बिश्वको अग्लो चुचुरोको हालत’ भनेर कारुणिक दृश्य देखाउन खोजेको देखियो। उहाँले बिश्वको महत्वपूर्ण पानीको मुहान हिमशृङ्खला पग्लियो वा पानीको मुहान सुक्यो भने पाकिस्तानदेखि बर्मासम्मको करोडौं मानिसको स्वच्छ पिउने पानी र जीबिकोपार्जन धरापमा पर्ने महाबिपद्को शंखधुन गर्नुभयो।

“सूर्यको किरण हिमालमा ठोक्किएको देखें। असर स्थानीय नागरिकले भोगेको देखें।” भनेर उहाँले कार्वन उत्सर्जन गरेर हिमाल पगाल्ने महाशक्ति राष्ट्रहरुलाई घनले टाउकोमा हान्नुभयो।

कार्बन उत्सर्जन गर्ने पहिलो र चौथो भिमकाय छिमेकी चीन र भारतलाई नेपालको वातावरण रक्षामा जिम्मेवार हुन घुमौरो आह्वान गर्नुभयो। ०.०५ प्रतिशत कार्वन उत्सर्जन नगर्ने नेपालले किन जलवायु परिवर्तनको उत्पात् प्रभाव खेप्ने र क्षतिपूर्ति नपाउने भनेर चीन भारत लगायतका कार्वन उत्सर्जनकर्ता देशहरुलाई ढ्याङ्ग्राे ठोक्नुभयो।

सगरमाथामा हिमालका हकदार शेर्पा समुदायसँग खुलेर संवाद गर्नुभयो। धेरै सुन्ने र ग्रहण गर्ने काम भयो। स्थानीयबाट हिमाल सफाइ र नेपाली सेनाको संरक्षण योगदान सुनेर गर्व गर्नुभयो। जब स्थानीयले उहाँलाई फोहोरबाट उठाएको पाता पिटेर बनाएका हिमालको मुर्ती उपहार दिए उहाँ भावुक हुनुभयो। गहिरो चिन्ता गर्नुभयो।

थोरै तर हृदयस्पर्शी प्रतिक्रिया दिनुभयो। अन्नपूर्ण शिविरमा स्थानीय जनतासँग बडो उत्साहित भएर भलाकुसारी गर्नु भयो। स्थानीय समुदाय र स्थानीय सरकारको कुरा ध्यानपूर्वक सुन्नुभयो। नजिकै बिदेशी पर्यटकहरुको समूहबाट १ जना पर्यटकले चिच्चाएर भने-

“महोदय,

तपाईको जलबायुपरिवर्तन मुद्दा कदरयोग्य छ।
तपाईंलाई शुभकामना ।”

महासचिवको बिशाल हिन्दुकुश हिमालय शृङ्खलाको नसा छाम्ने, ज्वरो नाप्ने मुटुको धड्कन सुन्ने र स्थानीयको मनोबिज्ञान जाँच्ने उत्कट जांगर तारिफयोग्य थियो।

उहाँले हिमालय राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, भौगोलिक, भूरणनीतिक आयामको सुक्ष्म विश्लेषण र मूल्यांकन गर्नुभयो। ३ हप्ता पछि दुबईमा हुन लागेको कोप-२८ को लागि बुलन्द आवाज उठाइदिनुहुने भयो। संसारको ध्यान हिमालय पर्वतमा खिचेर क्षतिपूर्ति भरणलाई मद्दत गर्नुहुने भयो।

महासचिवको स्थानीय अन्तरक्रियादेखि संसद भवनसम्मको बडो तार्किक सत्य, तथ्य, प्रमाण सहितको भाषण सुन्दा लाग्दथ्यो, उहाँ जलवायु परिवर्तनको अध्ययन, अनुसन्धान, ज्ञान, अनुभवले खारिएको तिखारिएको प्रतिबद्ध र साहसिक बिश्व नेतृत्व हो।

उहाँको प्रतिबद्धता अवका दिनमा युएनले लिने नीतिमा कत्तिको देखिन्छ त्यो हेर्न बाँकी छ। तथ्यहरु हेर्दा सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा करिब २ सय देशले बिश्वब्यापी तापमान बृद्धिलाई २ डिग्री सेल्सियस भन्दा कममा र अझ सुरक्षित १.५ डिग्री सेल्सियसमा सीमित राख्ने संकल्प गरेका थिए। ब्यवहारमा भयो उल्टो।

संकल्प गरेको तापमान नघटाउने, ब्यवहारमा कार्बन उत्सर्जन, पृथ्वीदोहन र प्रदुषण अचाक्ली बढाउने। र, संकल्प, जिम्मेवारी, जवाफदेहीताबाट मुख्य दोषी शक्ति राष्ट्रहरु भाग्ने गर्दै आएका छन् जसलाई युएनले मात्र जिम्मेवार बनाउन सक्छ।

मानौं नमानौं, पृथ्वी बस्न अयोग्य भइसक्यो। झन् तीव्ररुपमा तापक्रम बढाउने प्रतिश्पर्धामा छौं हामीहरु। आगामी २/३ वर्षमा पृथ्वीको तापक्रमले सीमा नाघ्ने छ। पृथ्वीलाई मानव अयोग्य घोषणा गर्नुपर्ने दिन आउने छ।

त्यो दुर्भाग्य रोक्ने महासचिवको सत्प्रयास सत्कर्म र सगरमाथा सन्देश कामयावी होस्। तातो हरितगृह ग्यास प्रदुषण रोक्न अर्को महिना दुबईमा आयोजित बिश्व नेताहरु सम्मिलित युएनको कोप-२८ जलवायु सम्मेलन सफल र उपलब्धिमूलक होस्। महासचिवको गर्जन र दबाबको सुनुवाइ होस्। बिकसित मुलुकहरुले कबोल गरेको र नदिएको ५ सय बिलियन डलर निकासाको प्रकृया कार्यान्वयन होस्।

न्याय, सत्ता र शान्ति

नेपालको सत्ता, सरकार र राजनीतिक दलहरुलाई संक्रमणकालीन न्यायका बाँकी काम पूरा गरेर शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउन दबाब दिनु थियो। संक्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र आन्तरिक कानुनी ब्यवस्थाको पालना गरेर शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन उहाँले बिनम्र अनुरोध गर्नुभयो। कुटनीतिक भाषामा त्यो कडा निर्देशनजस्तै थियो।

दुई ठूला शक्ति बीच रहेर आफ्नो सर्वाभौमसत्ता र स्वाधिनताको रक्षा गर्न सामथ्र्य राखेको नेपालले द्वन्द्वलाई पनि पार लगाएको छ। युद्ध त्यागेर शान्तितर्फ उन्मुख छ। बिश्वलाई चमत्कार देखाएको छ।

अब, जाबो शान्ति प्रक्रिया टुङ्ग्याउन किन आलटाल, बिलम्ब र भागाभाग भन्ने भाष्यको बडी ल्याङग्वेजमा ब्यंग्यको साथै दमदार पेचकस् थियो कि शान्ति प्रक्रिया छिटो टुंगोमा पुर्‍याएर देखाऊ। केन्द्रमा पीडितहरु राख। सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित होउ।

उहाँले नेताहरुलाई गाली गलौजको होइन कुटनीतिक जुवामा नार्नुभयो र बिश्व शान्तिमा नेपालले पुर्‍याएको अतुलनीय योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभयो।

सानो देश नेपालले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान पुर्‍याएको र शान्ति क्षेत्रमा फौज योगदान गर्ने नेपाल दोश्रो ठूलो राष्ट्र भएको गौरवगाथा सुनाउनुभयो।

नेपालीहरुको अदम्य साहस, इमान्दार सेवा र समर्पणको लागि कृतज्ञ हुँदै शान्ति स्थापनार्थ ज्यान गुमाउनेहरुको सम्झना र सम्मानमा संघीय संसदलाई १ मिनेट मौन धारण गराउनु भयो। उहाँले संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पारेपछि मात्र दिगो बिकासको बाटोमा दौडिन सक्ने सूत्र पिलाउनुभयो।

लुम्बिनी अस्त्र

भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा सशरीर उपस्थित भएर युद्धमा सामेल मुलुक लगायत अन्तर्राष्ट्रिय जगतलाई दिगो शान्तिका लागि आह्वान गर्नु मार्मिक र अर्थपूर्ण पहलकदमी थियो।

जहाँबाट जति भनेपनि नसुन्ने नटेर्ने युद्धरत शासक र समूहहरुलाई बिश्व शान्ति केन्द्रको प्रतीक लुम्बिनीबाट दिएको शान्ति सन्देश एउटा शक्तिशाली अस्त्र सरह होस् भन्ने चाहना पनि यसभित्र लुकेको बुझ्न सकिन्थ्यो। अथवा, उहाँको दिगो शान्ति स्थापनाको हुट्हुटी।

शान्तिको प्रतीक र शक्तिकेन्द्र लुम्बिनीलाई ठानेर त्यहाँ सशरीर पुगेर उहाँले युद्धलाई कसरी आफै त्यागेर मौलिक शान्ति प्रक्रियामा नेपाल सामेल र प्रगतिको बाटोमा लम्कन उद्यत छ हेर र सिक भन्ने सकरात्मक सन्देश दिनुभएको छ।

इजरायल मात्र होइन, संसारभर आफू सामेल नभएको युद्धमा एउटा शान्तिकामी देशले गुमाएका निर्दोष नागरिकहरुको पक्षमा बिश्व नेताले सम्बेदनशील भएर वकालत गरिदिनु भयो।

जसले जे जे भने पनि उहाँको ज्यान दूरदराजको नेपालमा तर ध्यान २४ घण्टा युद्धभूमिको क्षति र पीडामा थियो। उहाँको स्मार्ट मोबाइल कार्यालय साथमा थियो र उहाँ हरेक क्षण ती युद्धहरुलाई सुक्ष्म अध्ययन, बिश्लेषण गरेर बिना बिलम्ब आफ्नो निचोड र निर्णय पास गरिरहनु भएको थियो।

बिश्व शान्तिको आवश्यकता, औचित्य र महत्व दर्शाउन र बिश्व नेताहरुलाई नेपालजस्तै दिगो शान्तिको पवित्र मार्गमा लामवद्ध हुन उहाँले लुम्बिनीबाट बडो धैर्यताका साथ आशावादी भएर शंखधुन गर्नुभयो।

त्यो बाहिर दिगो शान्तिको लागि कुटनीतिक प्रार्थना र भित्र बिश्व नेताहरुलाई “गर नत्र मर
(डू अर डाई) भन्ने भावपूर्ण कडा सन्देश थियो।

एकातिर भावी सन्ततिको पृथ्वी रक्षा गर्ने नारा र प्रार्थना, अर्कोतिर व्यवहारमा, आणविक हतियारको होडबाजी र घमासान युद्ध छेडेर प्रकृति र वालवालिकामाथि क्रुर प्रहार तथा महाबिनास गर्ने दुष्कर्म बीच बुद्धिमत्तापूर्ण सामञ्जस्यताको समाधान खोज्न उहाँ आत्तुर र चतुर देखिनुहुन्थ्यो।

दृढ संकल्प बोकेको शान्तिको दूत झैं लाग्दथ्यो। युएन हेक्वा न्युयोर्कको स्वर नसुनेपछि उहाँले  शंखधुनको लागि नेपालको लुम्बिनीलाई रोज्नुभएको बुझिन्थ्यो।

नेपाल अस्तव्यस्त भए पनि

यो भ्रमणबाट सबैभन्दा लाभान्वित नेपाल भएको छ। भ्रमण आफैंमा ऐतिहासिक, बिशिष्ट र गौरवशाली थियो नै, सबैलाई सर्बत्र साक्षी राखेर नेपाली बिधायक र नीति निर्माताहरुलाई दिएको गुलियो, नुनिलो र पेचिलो सन्देशको कार्यान्वयन कसरी कति छिटो हुन्छ, भ्रमणको सार्थकता त्यसैमा भर पर्दछ।

अन्यन्त भद्र, सरल, शालीन, मृदुभाषी बिश्व कुटनीतिज्ञको मुखारबिन्दुबाट हामीले जति शान्ति, विकास, वाताबरणप्रेम र साहसिक सफलताका गौरवगाथा सुन्यौं, आशा गरौं त्यो उर्जाले भित्र बिभाजित बिखण्डित हामी सबैलाई राष्ट्रिय एकताको मालामा उनेर गौरवशाली मातृभूमिको बिशिष्ट भुरणनीतिक, प्राकृतिक, साँस्कृतिक महत्वलाई रक्षा कल्याण सम्मान गर्न उत्प्रेरित गर्ने छ। नत्र, विश्व समुदायले हामीलाई धिक्कार्ने छ।

बिश्वका बिशिष्ट कुटनीतिज्ञको जलवायु लक्षको बिशेष भ्रमणमा बन तथा वातावरण मन्त्रालय, निकुञ्ज बिभाग, जलवायु बिज्ञहरुको सहभागिता नहुनु नगराइनु आयोजक राष्ट्रको ठूलो त्रुटी थियो। सगरमाथा वा अन्नपूर्ण आधार शिविरमा बिज्ञहरुको एक दीवसीय गोष्ठी आयोजना गरेर महासचिवलाई सम्बोधन र अन्तरक्रियाको अवसर दिन मनासिव हुने थियो।

स्थानीयसँगको परामर्श र अन्तरक्रिया ज्ञान आर्जनको अर्को बिशिष्ट मोडल छँदै थियो। दुईको समायोजन सुनमा सुगन्ध हुने थियो। सम्वन्धितहरुले विषयवस्तुको सम्वेदनशीलताको अपनत्व लिने थिए।जवाफदेही हुने थिए। त्यो पाटो छुट्नु हुँदैन थियो। जुन प्रधानमन्त्री स्वयम र परराष्ट्र मन्त्रालयको अक्षम्य अनदेखा थियो। सगरमाथा राष्ट्रिय निकुञ्जमा निकुञ्जको र अन्नपूर्ण संरक्षण क्षेत्रमा निकुञ्ज एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिको उपस्थिति शोभायमान हुने थियो।

तथापि सकरात्मक भएर हेरौं, बन तथा वातावरण मन्त्रालयले गर्नुपर्ने बिश्वको ध्यानाकर्षण विश्व कुटनीतिज्ञले निःशुल्क स्वस्फूर्त झन् सानदार र असरदार तरिकाले गरिदिनुभएको छ। त्यो जगमा टेकेर बन तथा वातावराण मन्त्रालयले जलवायुजन्य हानी नोक्सानीको क्षतिपूर्ति माग गरोस्।

सेती फ्ल्यास् फ्लड, मेलम्ची फ्ल्यास् फ्लड कागवेनी फ्ल्यास् फ्लड लगायतका हिमनदी, हिमताल बिष्फोटन र बाढी, पहिरो, डुबान, खडेरी, डढेलोले पुर्‍याएको कहालीलाग्दो क्षति देखाएर जलवायुमैत्री पूर्वाधार निर्माण, उत्थानशीलता, अनुकूलन बित्त, जलवायु बित्तको दरो माग दाबी गरोस्।

बिगतका सम्मेलनहरुमा सशक्तरुपमा प्रस्तुत हुन नसकेको र टुटिफुटी झारा टारेर खाली हात फर्किएको बदनामलाई पुनराबृत्ति नगर्न यो वर्ष बिशेष तयारीका साथ प्रधानमन्त्रीको सक्रिय नेतृत्वमा जलवायु बिज्ञहरुको सहभागिता रहोस र सशक्तरुपमा प्रस्तुत भएर महासचिवले औंंल्याउनु भएका सबल पक्ष उजागर गर्दै राम्रो लबिङ गरेर जलवायु न्याय र क्षतिपूर्तिका लागि जलवायु कोषबाट रकम निकाशा ल्याउन एकीकृत पहलकदमी होस्।

प्रार्थना गरौं, बिश्व शान्ति क्षेत्रको पूर्व प्रस्तावक शान्तिकामी नेपालको शान्ति केन्द्र लुम्बिनीबाट महासविचले गर्नुभएको शान्ति आह्वान विश्वका विभिन्न युद्धमा सामेल साशकहरुको कानमा परोस् र छिट्टै युद्धविराम घोषणा होस्। प्रकृति र वालवालिकाले शान्तिको सास फेर्न पाउन्।

२४ बर्षको उमेरमा सक्रिय राजनीति गरेर २/२ पटक प्रधानमन्त्री भइसक्नुभएका महासचिवको अद्भूत प्रभावशाली ब्यक्तित्व, कुटनीतिक चातुर्यता, वातावरणप्रेम, बिश्व शान्तिको वकालत र मानव सेवा कर्म धर्मको अनवरत पहल र प्रयास कदरयोग्य छ।

उहाँले देखाउनुभएको सत्मार्गमा इमान्दारसाथ अग्रसर भई बाँकी शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएर नेपालले उहाँको सिफारिस र जोडबलमा शान्ति पुरस्कार पाउने मार्ग प्रशस्त गर्न सक्दछ। खाँचो छ केवल नेतृत्वको इच्छाशक्तिको। भातृत्वभाव र एकताको।

छापामारलाई नमूना ढंगले समायोजन गरेर नेपाली सेनाले मौलिक बिशिष्ट नजीर स्थापित गरेर देखाए जस्तै राजनीतिक नेतृत्वहरुले इमानदार भै शान्ति पक्रिया टुंगोमा पुर्‍याउनासाथ नेपाल विशेष पुरस्कारको हकदार हुनेछ।

बिश्व बिशिष्ट कुटनीतिज्ञको दुर्लभ भ्रमणलाई सरकारले कति लाभदायक बनाउन सक्यो त्यो इतिहासले बताउला। तर, सबै दलका नेताहरुले रिसिबी नसाँधी, खुट्टा नतानी एकमुखे गम्भीरता र एकता प्रदर्शन गरेको भए, अन्तर मन्त्रालय र विभागहरुको सम्वन्ध समन्वय सहयकार्य सुन्दर भईदिएको भए, रक्षा गृह अर्थ बन परराष्ट्र मन्त्रीहरुको संयुक्त मञ्चमा भलाकुसारी भएको भए भ्रमणको गरिमा र शोभा बढ्ने थियो।

वनमन्त्रालयले भब्य र सभ्य कार्यक्रम गरेर जलवायु दूतको रुपमा सम्मान गर्न सक्ने थियो। नेपाली सेनाले शान्ति सैनिकको मुख्यालयमा भ्रमण चलाएर शान्तिको महादुतलाई सम्मान दिएको भए सुगन्धमय हुने थियो।

फुलचोकी-लेले-हात्तीवन-चन्द्रागिरि सुन्दर बन क्षेत्रलाई युएन संरक्षण पार्क घोषणा गरेर चन्द्रागिरिबाट पार्कको शिलान्यास गराउन पाएको भए भ्रमणको गरिमा बढ्ने थियो। हीरा-मोती भन्दा मूल्यवान राजधानीको प्राण भर्ने त्यो अमूल्य फोक्सोको नमूना संरक्षण हुने थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.