विश्वकप क्रिकेट : यस्ता छन् भारत-न्युजिल्याण्डको सेमिफाइनल खेलमा बनेका दर्जनौं रेकर्डहरू

डिसी नेपाल
३० कार्तिक २०८० १०:२०
1.7k
Shares

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्धको खेलमा भारतका सुपरस्टार विराट कोहलीले शानदार शतक प्रहार गरेका छन् । यो विराटको एकदिवसीय करियरको ५० औं शतक हो।

उनले यो फर्म्याटमा शतकको अर्धशतक पूरा गरेका छन् । विराटले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको सर्वाधिक शतकको विश्व कीर्तिमान तोडेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा ४९ शतक छ ।

विराटले विश्वकपमा आफ्नो ५ औं शतक प्रहार गरे । उनले यो प्रतियोगितामा ७११ रन बनाइसकेका छन् । योसँगै उनले सचिन तेन्दुलकरको विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमानलाई पनि पछाडि पारेका छन् । सचिनले सन् २००३ मा ६७३ रन बनाएका थिए ।

मुम्बईको वानखेडे मैदानमा बुधबार भएको भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेलमा धेरै कीर्तिमान तोडिएका छन् । कोहलीको ब्याटबाट र अन्य खेलाडी तथा टिमले बनाएका केही कीर्तिमानहरू यस्ता छन् ।

१. एउटै फर्म्याटमा ५० शतक बनाउने दोस्रो ब्याट्सम्यान:

विराट अन्तर्राष्ट्रिय क्रिकेटको एउटै फर्म्याटमा ५० शतक बनाउने विश्वका दोस्रो ब्याट्सम्यान समेत बनेका छन्। यसअघि सचिन तेन्दुलकरले टेस्ट फर्म्याटमा यो उपलब्धि हासिल गरेका थिए । टेस्ट क्रिकेटमा सचिनको नाममा ५१ शतक छ । विराटको एकदिवसीयमा ५० र टेस्टमा २९ शतक छ। उनले टी–२० अन्तर्राष्ट्रियमा पनि शतक बनाएका छन् ।

२. एक विश्वकपमा ७००+ रन बनाउने एकमात्र ब्याट्सम्यान

विराट कोहली आफ्नो शतकसँगै विश्वकप २०२३ को सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। उनले १० खेलमा ७११ रन बनाएका छन् । जसमा ३ शतक र ५ अर्धशतक रहेका छन् । विश्वकपमा उनीभन्दा बढी रन अरु कुनै खेलाडीले बनाएका छैनन् । यस मामिलामा उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे । सन् २००३ को विश्वकपमा सचिनले ६७३ रन बनाएका थिए ।

३. एकदिवसीय क्रिकेटको तेस्रो शीर्ष स्कोरर

विराट कोहली (१३७९४ रन) एकदिवसीय क्रिकेटको तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले अस्ट्रेलियाका रिकी पोन्टिङलाई पछि पारेका छन् । विराटले न्युजिल्याण्ड विरुद्धको सेमिफाइनलमा आफ्नो २८ औं रन लिने बित्तिकै पोन्टिङलाई पछाडि छोडे।

पोन्टिङको नाममा ३७५ एकदिवसीय खेलमा १३७०४ रन छन् । कोहलीले २९१ औं खेलमा यो कीर्तिमानलाई पछि पारेका हुन् । श्रीलंकाका कुमार संगकारा (१४२३४ रन) र भारतका सचिन तेन्दुलकर (१८४२६ रन) मात्र कोहलीभन्दा अगाडि छन्।

४. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५०+ रन बनाउनेमा शीर्ष ३ मा

विराट कोहली श्रीलंकाका ब्याट्सम्यान कुमार संगकारालाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ५०+ रन बनाउनेहरूमध्ये शीर्ष-३ मा छन्। संगकाराले २१६ पटक ५०+ रन बनाएका छन् भने विराटले २१७ औं पटक यो उपलब्धि हासिल गरेका छन् । विराट अब अष्ट्रेलियाका ब्याट्सम्यान रिकी पोन्टिङ (२१७ पटक) को स्तरमा पुगेका छन् । यस मामिलामा सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । उनको अर्धशतक २६४ छ।

५. तेन्दुलकर पछि ९ टोलीहरू विरुद्ध सबैभन्दा धेरै ओडीआई शतकहरू

विराट कोहलीले न्यूजिल्याण्ड विरुद्ध छैटौं एकदिवसीय शतक बनाएका छन् । उनले ९ देशहरू विरुद्ध शतक बनाएका छन्। यो मामिलामा उनीभन्दा सचिन तेन्दुलकर मात्र अगाडि छन् । सचिनले एकदिवसीय क्रिकेटमा ११ टोलीविरुद्ध शतक प्रहार गरेका छन् । विराटले यसअघि श्रीलंका (१०), वेस्ट इन्डिज (९), अष्ट्रेलिया (८), न्युजिल्याण्ड (६), बंगलादेश (५), दक्षिण अफ्रिका (५), इंग्ल्याण्ड (३), पाकिस्तान (३) र जिम्बाब्वे विरुद्ध पनि शतक प्रहार गरेका थिए ।

६. २०२३ को विश्वकपमा सबैभन्दा धेरै चौका

विराटले न्यूजिल्याण्ड विरुद्ध ९ चौका प्रहार गरे, यो संगै उनले यो विश्वकपमा ६४ चौका प्रहार गरे। विराटले भारतीय कप्तान रोहित शर्मालाई पछाडि छोडे । रोहितले यो विश्वकपमा ६२ चौका प्रहार गरेका छन् ।

७. एक विश्वकपमा ५०+ रनको सबैभन्दा धेरै स्कोर

विराट कोहलीले विश्व कपको एउटै संस्करणमा ५०+ रनको सबैभन्दा धेरै स्कोरको सन्दर्भमा सचिन तेन्दुलकरलाई पछाडि छोडेका छन्। विराटले यस विश्वकपमा ८ पटक ५०+ रन बनाएका छन् भने सचिन तेन्दुलकरले २००३ को विश्वकपमा ७ पटक र शकिब अल हसनले २०१९ विश्वकपमा ७ पटक ५०+ रन बनाएका छन्।

८. आइसीसी इभेन्टको नकआउट खेलमा ५०+ को उच्चतम स्कोर

विराट कोहली आइसीसी नकआउट खेलमा सबैभन्दा ५०+ स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। कोहलीले सातौं पटक यो उपलब्धि हासिल गरेका हुन् । उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे । तेन्दुलकरले ६ पटक आईसीसी प्रतियोगिताको नकआउट खेलमा ५० भन्दा बढी रन बनाएका छन् ।

१०. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै म्याच जित्ने शतकहरू

विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ५६ म्याच जित्ने शतक बनाएका छन्। कोहलीले रिकी पोन्टिङको ५५ शतकको कीर्तिमानलाई पछि पारेका छन् ।

११. विराट कोहली आइसीसी इभेन्टमा सबैभन्दा धेरै म्याच जित्ने टोलीको सदस्य

विराट कोहली आइसीसी इभेन्टहरूमा सबैभन्दा धेरै खेल जित्ने टोलीको एक सदस्य भएका छन्। उनले कुल ५९ खेल जितेका छन् । यस मामिलामा कोहलीले श्रीलंकाली क्रिकेटर महेला जयवर्धनेको कीर्तिमानलाई पछाडि छोडेका छन् । जयवर्धने आईसीसीका ५८ खेल जित्ने टोलीको सदस्य रहेका छन्।

१२. विश्व कप नकआउटमा सबैभन्दा छिटो शतक

श्रेयस अय्यरले न्युजिल्याण्ड विरुद्ध १०५ रन बनाएर विश्व कप नकआउटमा सबैभन्दा छिटो शतक बनाए । उनले ६७ बलमा शतक बनाए । अय्यर विश्वकपको नकआउट खेलमा सबैभन्दा छिटो शतक बनाउने ब्याट्सम्यान बने । उनले अस्ट्रेलियाका विकेटकिपर एडम गिलक्रिस्टको कीर्तिमान तोडे । गिलक्रिस्टले सन् २००७ को विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध ७२ बलमा शतक बनाएका थिए ।

१३. एक विश्वकप खेलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान

श्रेयस अय्यरले न्युजिल्याण्ड विरुद्ध ८ छक्का प्रहार गरे। उनी विश्वकप खेलको एक इनिङमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । अय्यरले पूर्व भारतीय कप्तान सौरभ गांगुलीको कीर्तिमान तोडेका थिए, जुन उनले सन् १९९९ को विश्वकपमा श्रीलंकाविरुद्ध बनाएका थिए। उक्त खेलमा गांगुलीले ७ छक्का प्रहार गरेका थिए ।

१४. एक विश्वकपमा सबैभन्दा बढी छक्का

जएष्ट इण्डिजका क्रिस गेलको कीर्तिमान तोड्दै रोहित शर्मा एकै विश्वकपको सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले चालू सिजनमा २८ छक्का प्रहार गरेका छन् । रोहितले क्यारेबियन ब्याट्सम्यान क्रिस गेलको कीर्तिमान तोडेका छन् । गेलले २०१५ को विश्वकपमा २६ छक्का प्रहार गरेका थिए ।

१५. विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान

रोहित शर्माले यस इनिङमा ४ छक्का प्रहार गरेका छन् । तेस्रो छक्का प्रहार गर्ने बित्तिकै उनले एकदिवसीय विश्वकपमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने विश्व कीर्तिमान बनाए। विश्वकपमा रोहितको नाममा ५१ छक्का छ । उनले वेस्ट इन्डिजका क्रिस गेल (४९ छक्का) को कीर्तिमान तोडे । रोहितको यो तेस्रो विश्वकप हो।

१६. विश्वकपमा सबैभन्दा धेरै पटक ४ वा सोभन्दा बढी विकेट

न्यूजिल्याण्डका ४ विकेटसँगै मोहम्मद शमीले आठौं पटक विश्वकपमा एक इनिङमा ४ वा सोभन्दा बढी विकेट लिएका छन्। यो कीर्तिमानमा शमी शीर्ष स्थानमा छन् भने दोस्रोमा अस्ट्रेलियाका मिचेल स्टार्क छन् जसले विश्वकपमा ६ पटक ४+ विकेट लिने कीर्तिमान राखेका छन् ।

१७. विश्व कपमा सबैभन्दा छिटो ५० विकेट

मोहम्मद शामीले न्यूजील्याण्ड विरुद्ध तेस्रो विकेट लिएर विश्वकपमा आफ्नो ५० विकेट पूरा गरे। यसका लागि उनले १७ इनिङ मात्र लिए, जुन प्रतियोगिताको इतिहासमा सबैभन्दा छिटो हो। उनले अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे जसले १९ इनिङ्समा ५० विकेट लिएका थिए ।

१८. विश्वकप खेलमा ७ विकेट लिने पहिलो भारतीय

मोहम्मद शामीले न्युजिल्याण्ड विरुद्ध ७ विकेट लिएका छन्। उनी विश्वकपमा सबैभन्दा बढी विकेट लिने भारतीय बलर बनेका छन् । शमीले आशिष नेहराको कीर्तिमान तोडे । नेहराको नाममा एक खेलमा ६ विकेटको कीर्तिमान छ । यति मात्र होइन, शमीले विश्वकपको नकआउटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

१९. विश्वकपमा सबैभन्दा धेरै पटक ५ विकेट लिने बलर

मोहम्मद शामी विश्वकपमा सबैभन्दा धेरै पटक ५ विकेट लिने बलर बनेका छन्। उनले चौथो पटक ५ वा सोभन्दा बढी विकेट लिएका छन् । शमीले अस्ट्रेलियाका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । स्टार्कले विश्वकपमा तीन पटक ५ वा सोभन्दा बढी विकेट लिएका छन् ।

२०. ओडीआई विश्वकपको नकआउटमा उच्चतम स्कोर

भारतले न्यूजील्याण्ड विरुद्ध ३९७ रन बनायो। यो एकदिवसीय विश्वकपको नकआउट खेलमा बनेको उच्च स्कोर हो । यसअघि यो कीर्तिमान न्युजिल्याण्डको नाममा थियो । सन् २०१५ को विश्वकपमा न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्ध ३९३ रन बनाएको थियो ।

२१. विश्वकपको एक खेलमा सबैभन्दा धेरै छक्का

भारत-न्युजिल्याण्डको खेलमा ३० छक्का प्रहार भएको थियो। भारतको मैदानमा विश्वकपको नकआउट खेलमा यो सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान हो। विश्वकपको समग्र खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान इंग्ल्याण्डको नाममा छ । इंग्लिस टोलीले सन् २०१९ को विश्वकपमा अफगानिस्तानविरुद्ध ३३ छक्का प्रहार गरेको थियो ।

२२. भारतको लगातार दशौं जित

भारतीय टोलीले विश्वकपमा लगातार दशौं जित हासिल गरेको छ। विश्वकपमा सबैभन्दा धेरै जित्ने कीर्तिमान अष्ट्रेलियाको नाममा छ । कङ्गारु टोलीले २००३ र २००७ को विश्वकपमा लगातार ११ खेल जितेको थियो । विश्वकपमा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान पनि अस्ट्रेलियाको नाममा छ । टोलीले लगातार २५ जित हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.