आन्दोलनलाई अबमुल्यन,उपेक्षा र दमन नगर्न कमल थापाको आग्रह

डिसी नेपाल
८ मंसिर २०८० ६:४२
116
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेका छन्।

उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन्।

सामाजिक संजालमा लेख्दै थापाले जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण समेत गराएका छन्।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणामस्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दु:ख लागेको भन्दै थापाले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन्।

साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा थापाले अनुरोध गरेका छन्। राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्नेमा थापाको जोड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.