मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

डिसी नेपाल
१९ मंसिर २०८० १५:००
144
Shares

मनाङ। मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।

गतवर्ष भने हिमपात अनुकूल समयमा पनि हिमपात भएन । यसवर्ष समयमा नै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रने भन्दै खुसी  भएका छन्।

ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि हिमपात हुँदा पनि गाउँमै बसेको बताए।

उनले भने, “परिवारका अरु सदस्य काठमाडौँ गए । हामी भने पशुचौपायको हेरचाहका लागि यही बसेका छौँ ।” हिमपात भएपछि चिसो बढेको उनले बताए।

ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यसवर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएको बताए। उनले भने, “अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ ।” हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घर बाहिर निस्कनै मुस्किल भएको पनि उनले बताए।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए। उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे। सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा पनि हिमपात जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.