श्रीमतीको हत्या गरेर फरार भएका दवाडी २१ वर्षपछि पक्राउ

डिसी नेपाल
२ माघ २०८० २१:१६
108
Shares

काठमाडौं । श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँफालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्।

दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो। श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २०५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुन्ड्याएका थिए। उनले सानुमायाको शव धादिङ साबिक मैदी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए।

जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याएकोमा सर्वोच्च अदालतले २०६७ पुस ३ गते जिल्लाकै फैसला सदर गरेको थियो।

दवाडी यसबीचमा भारतका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए। नेपालमा प्रवेश गरिरहेको सूचना पाएपछि ब्युरोको टोली दवाडीको खोजीमा रुपन्देही पुगेको थियो। दवाडीलाई जिल्ला अदालत धादिङमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.