नवलपरासीमा कायाकिङको राष्ट्रिय प्रतियोगिता हुने

डिसी नेपाल
२१ माघ २०८० १३:१०
16
Shares

नवलपरासी। साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हुँदैछ ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए। यही माघ ४ गते अमलटारी घाटदेखि नन्दपुर सेहेरीसम्म गरिएको परीक्षण सफल भएपछि प्रतियोगिता आयोजना गरिएको हो ।

“एक जनामात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ”, उनले भने, “प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ ।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कायाकिङको सफल परीक्षणपछि प्रतियोगिता आयोजना हुनु आफैँमा महत्वपूर्ण भएकाले खेल पर्यटनको गन्तव्यका रूपमा अगाडि बढाउन प्रतियोगिता कोसेढुङ्गा सावित हुने सदस्य सचिव शर्माले बताए। “खेल पर्यटनमार्फत जैविक विविधता संरक्षणको सन्देश प्रतियोगिताले दिने छ”, उनले भने।

प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकमा नन्द भाउजु उपभोक्ता समिति नवलपुर छ । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.