नेपाली महिला टोली एसिया कप पुग्न सकेन, मलेसियाले सेमिफाइनल जित्यो
काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोली पराजित भएको छ । यससँगै नेपालको एसिया कप पुग्ने सपना विफल भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेल मलेसियाले ४ विकेटले जितेको हो ।
११६ रनको लक्ष्य पच्छ्याएको मलेसियाले एक बल बाँकी छख्दै ६ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । मलेसियालाई जित दिलाउन एलिसा हन्टरले निकै महत्वपूर्ण योगदान गरिन् । उनी एक्लैले ५३ बलमा नटआउट ६९ रन बनाइन् । यस क्रममा उनले ६ चौका प्रहार गरिन् ।
मलेसियाका लागि माहिरा इजाती इस्माइलले १६, मास एलिसाले १३ र वान जुलियाले ११ रन बनाइन् । नेपालको लागि कविता जोशी र सीता राना मगरले २–२ विकेट तथा रुबिना क्षेत्री र कपिता कुँवरले १–१ विकेट लिए ।
यसअघि नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन् । डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् । विनिफ्रेड दुराइसिंघमले १ विकेट लिइन् ।
आजको खेल जितेको मलेसियाली टोली एसिया कपमा छनोट भएको छ । एसिया कपमा कूल ६ टोली खेल्नेछन् । तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन् । अर्को समूहमा श्रीलंका र आज भएका दुई सेमिफाइनलका विजेता टोलीहरु युएइ र मलेसिया हुनेछन् । महिला एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment