डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवालाई

डिसी नेपाल
५ फागुन २०८० २२:४६
52
Shares

पथरी। दोस्रो आर्जु राइस मिल डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवा फुटबल क्लब धनकुटाले चुमेको छ।

आज भएको फाइनलमा धरान एफ सी सुनसरीलाई ट्राइबेकरमा हराउँदै सिंहदेवी सिदुवाले उपाधि चुमेको हो। खेलमा सिंहदेवी सिदुवा पाँचौँ मिनेटमा अग्रता लिए पनि उपाधिका लागि ट्राइबेकरसम्म कुर्नुपरेको थियो। खेलको पाँचौँ मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा वीरेन्द्र लिम्बूले गोलको खाता खोलेका थिए। खेलको १३औँ मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइबेकरमा सिदुवाले ३–१ गेल अन्तर धरानलाई पराजित गरेको छ। ट्राइबेकरमा सिदुवाका लागि अभिशेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गरे भने धरानका लागि मिलन राईले मात्र गोल गरे। धरानका बिकु राई, रोमन लिम्बूको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए। सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो।

उपाधिसँगै सिदुवाले नगद रु एक लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धरान एफ सीले रु ७५ हजार पाँच सयमा चित्त बुझायो। खेलको प्लेयर अफ दि म्याच सिदुवाका गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोषित हुँदा धरानका मिलन राई उत्कृृष्ट फरवार्ड र हाईस्कोरर, सचिन श्रेष्ठ उत्कृृष्टकिपर घोषित भए। प्रतियोगितामा उदयमान खेलाडी अजित चौधरी घोषित हँुदै जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे।

विजेता टोलीलाई प्रदेश संसद् ज्ञानेन्द्र सुवेदी, गिता तिम्सीना, बेलबारी नगर उपप्रमुख नितु थापा कोइरालाले पुरस्कृत गरे। बेलबारी ९ स्थीत डाँगिहाट जागृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता डाँगिहाटस्थित कालि माविको खेलमैदानमा सम्पन्न भएको हो। माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वका चर्चित ८ क्लबको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.