नेदरल्याण्डले जित्दा नेपाल अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको छ । नेदरल्याण्डले ७ विकेटले जित्दा नेपाल प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा अहिलेसम्म ३ खेल भएका छन् । यी खेलमा समान २ खेल खेलेका नेपाल, नेदरल्याण्ड र नामिबियाले एक खेल जित्दा अर्को खेल हारेका छन् । यससँगै तीनवटै टिमको अंक २ छ र नेपाल नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । नामिबियालाई सस्तैमा समेट्न नेदरल्याण्डका आर्यन दत्तले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए । यस्तै नेदरल्याण्डका लागि केल क्लिनले २ विकेट तथा रोलोफ भान डेर मेर्वे र म्याक्स ओडोडले १–१ विकेट लिए ।
नामिबियाका लागि जेजे स्मिटले सर्वाधिक २६ रन बनाए । रुबेन ट्रम्पलम्यानले २०, जेल ग्रिनले १९, निकोलस डेभिन र गेरहार्ड एरास्मसले १३–१३ तथा बर्नार्ड स्कोल्जले १२ रन बनाए ।
जवाफमा नेदरल्याण्डले २७.२ ओभरमा ३ विकेटको क्षतिमा १२४ रन बनायो । नेदरल्याण्डका लागि मिचेल लेभिटले सर्वाधिक ५७ रन बनाए । म्याक्स ओडोडले २८ र बेस डे लिडेले २१ रन बनाए ।
नामिबियाका लागि गेरहार्ड एरास्मसले सबै ३ विकेट लिए । अब अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डबीच हुनेछ ।







डिसी नेपाल







Facebook Comment