नेपाल नेदरल्याण्डसँग आठ विकेटले पराजित

डिसी नेपाल
१३ फागुन २०८० १७:३७
56
Shares

काठमाडौं। घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ।

जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक/एक विकेट लिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए। त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे। आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीनरतीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए।

यस जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा चार अंक जोडेको छ । नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो।

नेपालले लिग-२ को पहिलो चरणको खेल सकिदा दुई अंक बटुलेको छ। नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो।

नामिबियाले तीनमा जित हासिल गर्दै छ अंक बटुलेको छ । नामिबिया लिग दुईको शीर्ष स्थानमा छ ।

नेदरल्यान्डस चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अंकका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.