‘नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ’
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बता। आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उतले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गरे।
उनले भने, ‘चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु।’ उनले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताए।
चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेर्नुभएपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताए। ‘चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ’, निर्देशक चाम्सले भने।
विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गरेका थिए। वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ।
यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक छन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए। चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।







डिसी नेपाल








Facebook Comment