साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्याः मन्त्री शर्मा
दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताइन्।
आज घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कानुन निर्माणका लागि सरकार अगाडि बढेको समेत उल्लेख गरिन्।
उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गरिन्। सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उनको भनाइ थियो। सरकारी कार्यालयमा सूचना तथा तथ्यांक सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आयोजित अभिमुखीकरणमा पछिल्लो समय बढ्दो साइबर अपराध र यसका चुनौती तथा आवश्यक नीतिगत विषयमा जानकारी गराइएको छ।
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले साइबर सुरक्षा संवेदनशील विषय रहेको बताए। नागरिकको सूचना सरकारी निकायसँग रहने भन्दै यसलाई सुरक्षित, व्यवस्थितरुपमा राख्नुपर्ने उनले बताए।







डिसी नेपाल








Facebook Comment