महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

डिसी नेपाल
२५ फागुन २०८० १८:५५
116
Shares

नेपालगञ्ज। महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गराइएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिए। उनका अनुसार कोरोना महामारीअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्जको मार्ग भएर मानसरोवर पुग्ने गरेका थिए।

‘यसअघि रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट हवाई मार्गबाट सिमिकोट गएर त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा तथा हिल्साबाट सडक मार्ग भएर ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे’, गौतमले भने।

पर्यटकीय गतिविधि बढाउन माउन्टेन फ्लाइट सुरु गरिएको होलिडेजका प्रबन्ध निर्देशक गौतमले जानकारी दिए। कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि यो नयाँ गन्तव्य बन्दै गएको ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए। माउन्टेन फ्लाइटकै लागि एक सय ५० भारतीय पर्यटक यहाँ आएका थिए। उनीहरूलाई श्री एअरलाइन्सको जहाजबाट हवाईसेवा उपलब्ध गराइएको हो।

कैलाश मानसरोवरको दर्शन गर्ने सपना पूरा भएको भारतको कर्नाटकबाट आउनुभएकी ३३ वर्षीया अरुणा यनले बताए। ‘जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ’, नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले भने।

यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्ससँगको समन्वयमा गत माघ १५ गतेदेखि कैलाश मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.