उमेर पुगेपछि बिहे गर्ने सम्मानित
डोटी। जोरायल गाउँपालिका–६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ। वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको सो वडाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिए। बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो। ‘नवविवाहित दम्पतीको हामी माइती परेकाले गाडी भाडास्वरूप रु चार हजार एक सय २५ पनि दियौँ’, उनले भने।
दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ। यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ। उनले भने, ‘यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौँ।’
वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य संघसंस्थाले पनि साथ दिएका छन्। छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताए। मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ।







डिसी नेपाल







Facebook Comment