सम्वेगात्मक गुणको सामाजिक महत्व

कृष्ण बोहरा
७ चैत २०८० ७:४२
108
Shares

भोक रोग र गरिबी उन्मुलनको कुरा सबैले गर्दछन्। कम्यूनिज्मको सिद्धान्तमा त शोषणविहीन समाज र आर्थिक समानताको कुरा पनि छ।

बिपीको प्रजातान्त्रिक समाजवादमा पनि किसानलाई सुखी र सम्पन्न बनाउने तथा जीवन स्तर परिवर्तन गर्ने कुरा छ। तर के हाम्रा राज नेताहरु यही लक्ष्यकासाथ अघि बढ्नु भएको छ त? आजकल सर्बसाधारण कसैलाई पनि यो कुरा पत्यार लाग्दैन।

मानिस गरिब वा धनी भएर असल वा खराव बिचार आउँछ, यो कुरा पनि व्यबहारमा मिल्दैन रहेछ। हाम्रा धेरै नेताहरु गरिबीबाट गुज्रेर नै आलिसान महलका हकदार बनेका हुन्। किसान मजदुरको अवस्था त ऐले पनि जस्ताको तस्तै छ नि!

माथिका कुराबााट के बुझिन्छ भने, खानदानी र आलिसान महलमा जन्मिँदैमा उसका बिचार खराब हुन्छन् भन्ने पनि होइन रहेछ। दरबारमा जन्मेका बालक सिद्धार्थ, गौत्तम बुद्ध बनेर निस्किए। फ्रेडरिक एंंगेल्स ठूला उद्योगपतिका छोरा थिए। तर कार्लमाक्र्सका सबैभन्दा ठूला सहयोगी पनि उनै हुन्।

हाम्रो देशमा पनि यस्ता उदाहरणहरु धेरै छन्। आन्दोलनले अलग मोड लियो छुट्टै कुरा हो। परिवर्तनकालागि दुःख कष्ट गरि हिँड्ने भूमिगत कालमा थुप्रै उच्च घरानाका महिला पुरुषहरु पनि हुनुहुन्थ्यो। उनीहरुले घरैवाट बिद्रोह गरी हिँडेका थिए।

मुख्य कुरा मानिसमा मानवीय संबेदनाका बिम्वहरु हुन्छन्। अरुका दुःखमा उसलाई कतिको घोच्छ भन्ने कुरा प्रमुख हो। बुद्धमा यो प्रचुर मात्रामा रहेछ। समाजवादी चिन्तनको प्रफुष्टन यही बिम्वको उत्पादन हो। यो मानिस र पशुलाई छुट्याउने स्पष्ट मापदण्ड पनि हो।

रिसाउनु, हर्षित हुनु, दुःखी हुनु मानवीय संवेगहरु हुन्। मानवीय संवेगहरु मानिसका जन्मजात स्वभाव वा गुणहरु हुन्। यस्ता मानवीय स्वभाव र गुणहरुको प्रभाव समाजमा पनि परेको हुन्छ। दुःखी गरिव तथा बिपदमा परेकालाई सघाउन मानिस हमेसा चाहन्छ। हुनेले नहुनेलाई सहयोग गर्ने कुरा एउटा विशुुद्ध सामाजिक भावना हो।

यस्ता सामाज सेवाको भावना मानिसमा पलाउनु मानवीय संवेदनाका सकारात्मक पक्षहरु हुन्। यदि यसो नहुनेहो भने आजकल यूट्यूवहरु कसरी चल्थे र? मानवीय संवेगहरुका रुप नकारात्मक पनि हुन्छन्। सकारात्मक संवेगहरुले चाहिँ समाजको हितमा राम्रो काम गर्दछ।

आपसमा मिलेर बाँडीचुडी खाने, मिलेर वस्ने, भावनाको बिकास भयदेखिनै मानिसलाई पशुबाट अलग बनायो। तैपनि मानिसमा अहिले पनि स्वार्थी वा पशुवत प्रबृत्ति नभएका भने होइनन्। यही स्वार्थी बिचार र आदर्श विचारको बीच पैठेजोरी खेल्दै मानिस आजको यूगसम्म आईपुग्यो।

कुनै पनि देशमा अनेक नियम कानूनहरु बन्नु सामाजिक थितिहरु बसाल्न हो। यस्ता नियम कानुनहरुले समाजमा बेथितीको अन्त्य गर्दछ। यसैले नेतादेखि जनतासम्म, पावरमा हुनेदेखि नहुने सम्मले एउटै नीति र थितिमा चल्नुपर्ने भएमा समाजमा अमनचयनको वातावरण श्रृजना भइ जानेछ।

नीति लागू गर्नुपर्ने नियमन निकायले नीति नामान्ने रोगका कारण सबै समस्याहरुको उठान भैरहेको छ। यसैले अबको क्रान्ति भनेको राम्राको समर्थन र नराम्राको विरोध गर्नु हो। तपाईं कुनै पार्टी भित्र हुनुहुन्छ भने खराव आचरण र खराव कुराको त्यही भित्र बिरोध गर्न सक्नुपर्दछ।

नत्र तपाईंले जतिसुकै ठूला क्रान्तिकारी युद्धमा भाग लिएर आएको भएतापनि तपाईंको बिचार तुहिन थालेको संकेतको रुपमा लिन सकिन्छ। हिजो गरेको तपाईंको क्रान्तिकारी कामले वास्तविक व्यबहारमा कुनै सकारात्क सन्देस दिन सकेको देखिँदैन।

यसैले बाहिर होस् वा भित्र राम्राको समर्थन र नराम्राको खरो बिरोध गर्न सक्नु नै आजको अवस्थामा सबैभन्दा क्रान्तिकारी काम हो भन्न सकिन्छ। चाकडी चाप्लुसी गरेर आफ्नो काम पट्याउने मात्र लालची प्रबृत्तिले समाजलाई कहाँ पुर्‍याउँछ? हामीले नजर अन्दाज गर्दै आइरहेकै कुरा हो।

यतिकोलागि तपाईंले त्यति ठूलो क्रान्ति गर्नु कुनै आवस्यकता नै थिएन। यसैले ठण्डा दिमागले सोच्नुहोस् आफ्नो कर्तव्य के हो? क्रान्ति सकियो अबको काम कमाउनु खानु मात्र हो भन्ने तपाईंलाई लागेको छ भने तपाईं ठूलो भ्रममा हुनुहुन्छ।

सामाजिक बिकृति बिसंगति तथा सरकारी निकायका बिसंगति त डम्पिङ साइडमा फोहर थुप्रे सरी थुप्रिरहेको छ। यसलाई त तपाईंको क्रान्तिले अलिकति पनि छुन सकेको छैन।

बस “राजा गए गणतन्त्र आयो। एकात्मकता गयो संघीयता आयो। यो हामीले नै गरेको हो।” ठूलो उपलब्धी यसैलाई मान्नुहुन्छ भने तपाईं पश्चगामी लाइनमा उभिइसकेको मान्नुपर्छ। पुराना भन्दा पुराना सोच राख्ने राजनीतिज्ञले पनि तपाईलाई सजिलै पछि पार्न सक्दछन्। यसको कारण हो देशको आजको ज्वलन्त समश्यामा तपाईं आँखा चिम्लिरहनुभएको छ। बर्तमानको राजनीतिक आर्थिक र सामाजिक समस्या हल गर्ने तपाईंसँग कैुनै दृष्टिकोण नै छैन। तैपनि तपाईं सत्ताको तालाचाबी सधैं आफैसँग राख्न चाहनुहुन्छ भने यो भन्दा पश्चगामी र प्रतिकृयावादी सोच अरु के हुन सक्छ?

“शिक्षा मन्त्रालयमा विभिन्न शाखामा एक अर्का बीचमा के कसरी काम भैरहेको छ। कसैलाई थाहा हुँदैन। कुनै पनि शाखामा सुधारको लागि एउटा बैठक बसेको कुनै जानकारी छैन। बिसंगति प्रसस्तै छन्। यसलाई सुधार गर्न कसैकोपनि चासो छैन। नयाँ शिक्षामन्त्रीले कसरी काम गर्न सक्नुहोला? ” भुक्तभोगी एक रिटायर वाला उपसचिवले गरेको प्रश्न हो यो। सरकारका सबै निकायको अवस्था नियाल्ने हो भने उस्तै छ।

यसैले क्रान्तिकारी हुँ भन्नेले आफ्नो बानी व्यबहारमा फरकपना ल्याउनुपर्‍यो। आफूले जिम्मा लिएका काम इमान्दारीकासाथ पूरा गर्नुपर्‍यो। गाउँ गाउँमा जाने योजनाहरु कार्यकर्ता केन्द्रित हैन। आवश्यकता केन्द्रित हुनुपर्‍यो। आजकल कार्यकर्ताहरु पनि सबै एउटै खाले छैनन्। लोभी पापी संस्कृतिले सवैलाई छोइसकेको छ।

यस्तै ठेकेदारसँग चोसोमोसो मिलाउने राजनीतिज्ञको पहिचान गर्ने निकाए पनि जागरुक हुनुपर्‍यो। कार्यकर्ता केन्द्रित बजेट र आयोजनाले तपाईंलाई तत्कालको लागि सान्तोना मिल्ला, चुनावको बेला तपाईंका कार्यकर्ताले तपाईंको पक्षमा प्रचार पनि गरिदेलान्।

तर दीर्घकालीन रुपमा जनता तपाईंसँग रुष्ट भैसकेका हुन्छन्। तपाईंका कार्यकर्ता पनि जनताबाट बिस्थापित भैसकेका हुन्छन्। समाजिक अन्तरबिरोध जटिल रुपमा आगाडि बढिसकेको हुन्छ। त्यसको हल गर्ने आजका कुनैपनि नेतृत्वसँग ताकत हुनेछैन।

हालैका दिनमा डा.सिके राउतले एउटा अनौठो सूचना सार्बजनिक गर्नुभयो, “ लोकतन्त्रवादी र निरंकुशतावादी यहीँ नेर छुट्टिन्छ। यदि शेरवहादुर देउवाले नरोकेको भए काठमाडौंका मेयर बालेन शाह अहिले कारबाहीको निसानामा परिसकेका हुन्थे।”

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उहाँले इंगित गर्दै भन्नुभएको थियो। यदि यो कुरा सत्य हो भने परिस्थिति अझ जटिल हुन्थ्यो। प्रधानमन्त्री प्रचण्डले भनेजस्तो देशमा उथलपुथल त हुन्थ्यो नै उहाँहरुको नाम पनि इतिहासमा नराम्रो काम गर्ने मानिसको रुपमा दर्ज हुन्थ्यो।

विश्वमा कम्यूनिष्टहरुको सम्बन्धमा जे जति खराव कुराहरु प्रचार भैरहेका छन् ती सबै व्यक्तिगत रुपमा कसैले कोहीसँग साध्न चाहेको पूर्वाग्रहका उपजहरु हुन्। माक्र्सले कहाँ आफ्ना बिरोधी सबै सिध्याउनुपर्छ भनेका छन्? सैद्धान्तिक रुपमा माक्र्सवाद भनेको श्रम संम्पत्ति र सत्ताको बीच सन्तुलन राख्न बनेको सिद्धान्त हो।

यसैकारण मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम अगाडि सार्नु भएको हो। जनताका मौलिक हक अधिकारका कुरामा निषेध लगाउने कुराले संसारमा कम्युनिष्ट सत्ता धरासायी हुन पुग्यो। यसको मतलव यो हैन कि सामाजिक थिती बिगार्न उद्दत हुने, राम्रा काममा तगारो बन्ने सबैलाई छुट दिनुपर्छ। यो हुन सक्दैन। सत्ता राम्रा नीति नियम लागू गर्न अलिकती निर्मम पनि हुनुपर्छ। तर व्यक्तिगत फाइदा र पूर्बाग्रह साध्न कसैमाथि दमन गर्ने प्रबृति नितान्त अलोकतान्त्रिक हो।

मैले यहाँ मानवीय संवेग र सम्बेदनाको वारेमा केही चर्चा गर्न लागेको हुँ। भर्खरै काठमाडौंमा डेरा गरी बस्ने नुवाकोटको माइली राईको कथा व्यथा संचार माध्यमबाट सवैलाई थाहा भयो। उनको श्रीमानको मृत्यूको शोकसँगै, गाँस र बास समेत एकैपटक टुटन गयो।

दिनभरी श्रीमानको लास आफ्नै रिक्सामा डुलाउँदाको पीडाले उनको मन कस्तो भयो होला? यो खवर सुनेका नेपाली मनहरुले धेरै सहयोग गरे। पछि त आठ नौ लाख रुपैयाँ समेत जोहो भएको कुरा सुन्नमा आयो।

नीति निमार्ण तहमा रहेका व्यक्तीको संवेगात्मक भावना यतिकै रुपमा हुने हो भने माइली राई जस्ता थुप्रै मानिसहरुलाई यति पेचिलो समस्या आउने नै थिएन। यसबाट के बुझिन्छ भने मानव मष्तिष्कको उपज संंवेगात्मक सम्बेदनाले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

मिति गुज्रेको वा नाटकीय रोदनले मानव मष्तिष्कमा नकारात्मक भावनाको संचार हुन्छ। यो कुरा विचरा इन्द्रेणीका शर्मिला श्रेष्ठको हकमा यसैगरी लागू भयो।
यसैले मानवीय संवेगका अनेक रुप छन्। मानवीय संवेगलाई सही ठाउँमा प्रयोग गर्न व्यक्ति, समाज, बिद्यालय र राज्य समेतले सधै सजग भएर लागिपर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.