आत्महत्या कि मानसिक दुर्वलता?

सुनिता बस्नेत थापा
११ चैत २०८० ८:०५
200
Shares

आजकाल अमेरिकी-नेपाली समुदायमा आत्महत्याका घटनाहरु बढेको देखिन्छ। सपनाको देशमा आएर संघर्ष गरि ख्याति कमाएका सामाजिक अगुवासमेतले आफ्नो ज्यान आफैंले लिएका घटना देख्दा अमेरिकन नेपाली समाज सचेत हुन आवश्यक छ।

वर्षै पिच्छे उदाहरणीय व्यक्तित्व नै जीवनदेखि हार खाएर आफूलाई मृत्युको मुखमा समर्पण गरेका घटनाहरुले समाजमा नकारात्मक प्रभाव त पारेको नै छ, स्थानीय समाजको पनि नेपालीप्रतिको विश्वास पनि गुम्न सक्छ।

यस्ता घटनाहरुले नेपालीप्रति इमिग्रेसन सिस्टममा दीर्घकालीन असर नपार्ला भन्न सकिन्न। त्यसैले पनि सामाजिक एवं व्यक्तिगत स्तरमा आत्महत्या हुन सक्ने लक्ष्यण एवं कारण पत्ता लगाएर यसको निवारण गर्न आवश्यक छ।

गत वर्ष टेक्सस र हालसालै नर्थ क्यारोलिनाको भयानक घटनाले अमेरिकावासी नेपाली मात्र नभइ पुरै डायस्पोरा नराम्रोसँग हल्लाएको छ।त्यसै गरि महिनै पिच्छे विभिन्न राज्यहरुमा भएका नेपालीहरुको आत्महत्याको समाचारले सञ्जाल तातेको हुन्छ।

जे सुकै वहाना भए पनि विदेशीनु सुख र खुशी खोज्न कै लागि हो। स्थायी बसोबास गरे पनि या धन कमाएर स्वदेश फर्किए पनि विदेशिनुको मुल उद्देश्य जीवन स्तर उकास्नु हो तर खुशी टिप्न आएका नेपाली अमेरिका जस्तो सम्भ्रान्त देशमा आएर आफैं सखाप हुनुको कारण के हुन सक्छ?

कुनै पनि मानसिक रुपमा स्वश्थ व्यक्तिले आफ्नै ज्यान लिन सक्दैनन् भन्ने कुरा मनोविदहरु ठोकुवा गरेर भन्दछन्। विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार पनि शारीरिक, मानसिक एवं सामाजिक रुपमा सन्तुलन हुनु नै स्वाश्थ्य हो भन्छ। त्यसैले पनि मानसिक रुपमा पनि स्वस्थ रहे नरहेको बेलैमा पहिचान गरेर त्यसको समाधान गर्न सके यस्ता निराशाजनक कृयाकलाप कम हुन सक्छ।

मुटु नै हल्लाउने गरि भएका यी सामाजिक अगुवाहरुको आत्महत्याको जड समाचारमा आए अनुसार पारिवारिक मनमुटाव, अभाव, गृहकलह देखिन्छन्।
हुन पनि अमेरीका जस्तो अति नै व्यस्त ठाउँमा रोजीरोटिको काम मात्रै गर्दा पनि परीवारसँग दैनिक भेट हुन गाह्राे पर्छ।

भेट भए पनि दुख सुख साट्ने, सँगै खाना खाने समय कम हुन्छ। त्यस माथि पनि सामाजिक जिम्मेवारी लिँदा पारिवारिक समय खोसी दिएको हुन्छ। त्यसैले पनि अमेरिकामा धेरै मानिस एक्लोपनका शिकार छन्। प्रत्येक सेकेन्ड, मिनेट, घन्टा परिश्रम र कमाइमा गनिने ठाउँ हो अमेरिका।

धेरै समय सामाजिक काममा लाग्दा अवश्य नै आर्थिक अवस्थामाअसर पर्छ। ‘जहाँ कंगाल, त्यहाँ चण्डाल’ भने झैं पारिवारिक मतभेद र तनावको जड त्यहीँबाट शुरु हुन्छ।परिवारको भविश्यको त कुरै छोडौं वर्तमानमा पनि आर्थिक संकट हुन सक्छ।

परिवारप्रतिको आर्थिक जिम्मेवारी बहन गर्न नसक्नु र सामाजिक प्रतिष्ठाको लोभमा बाहिर नै रमाइ रहँदा मानिसले नाम त कमाउँछ तर परिवार गुमाउँछ। जति नै माथि पुगे पनि आफ्नो अटल धरातल परिवारको विश्वास, माया गुमाए पछि सफलताको मकुन्डो लाएर खुशीको अभिनय गरिरहे पनि मनमा जमेका कुण्ठाको विषले आफू र आफ्नालाई जलाउँछ।

अनुसन्धानका अनुसार ५० कटेका एकल पुरुषहरुमा आत्महत्याको अनुपात बढी देखिन्छ। त्यस्तै अमेरीकामा आत्महत्या गरेकाहरु पुरुषहरु नै छन्। हाम्रो जस्तो पुरुष प्रधान समाजमा आफ्नो हैकम चलाएर बसेका पुरुषहरुमा एक्लोपन र आत्मसम्मानको समस्या नपर्ला भन्न सकिन्न।

अमेरिकामा जो कोही पनि एक्लोपनको शिकार सजिलै हुन सक्छ। स्वभावैले पनि महिलाहरुमा कतिपय आफन्तहरुको धारिलो बचन र ब्यबहार सहन गर्न सक्ने क्षमता हुन्छ तर पुरुषहरुमा यो शक्ति कम देखिन्छ। अझै हाम्रो जस्तो पुरुष प्रधान समाजमा त अति न्युन हुन्छ।

परिवारमा पनि पुरुषका गल्ती र कमजोरीलाई औंल्याउँदा आफू सच्चिनु भन्दा पनि ‘मै हुँ’ भन्ने प्रवृत्तिले जकडेको हुन्छ। त्यस माथि आफ्नो पुरुषवादी सोचलाई कायम राख्न नसक्दा ‘मेल इगो’ असन्तुलन भइ दीर्घकालमा कुण्ठा ननिम्त्याउला भन्न सकिन्न।

कतिपय मानिसमा मानसिक दुर्वलता बढ्दै गए पछि त्यसलाई छोपछाप गर्न निरन्तर दौडी रहन्छन्। दुर्वलतालाई सवलतामा परिणत गर्न भन्दा पनि दुर्वल छैन भनि प्रमाणित ‘डिनाइल’ गर्न खोज्दा दुर्वलता बढेर झन् विकराल रुप लिन सक्छ। सर्वप्रथम आफूले आफूलाई माया गर्नु पर्छ।

अनि मात्र आफ्नालाई माया गर्न सकिन्छ। त्यस पछि मात्र अरुलाई माया बाँड्न सकिनछ। तर अमेरिका जस्तो अति व्यस्त ठाउँमा आफू र आफ्नालाई लत्याएर पपुलर हुनको लागि गरिएको दौडधुपले आफूलाई सखाप त पारेको छ आफ्नालाई पनि जीवन भरको लागि पीडा र अभावमा छोडेको देखिन्छ।

समुदायले पनि सामाजिक अनुहार मात्र हेरेर घर परिवारलाई दोष लाउने गरेको छ। जसले गर्दा मृतहरुको परिवारलाई जीवनभरको लागि तनाव र ग्लानी दिएर जान्छ। अझै सामाजिक सञ्जालमा हुने वकालत, तथानाम गाली गजौल र धम्कीले परिवार र आफन्तलाई मरेतुल्य पारेको देखिन्छ।

जबसम्म आफूले आफैंलाई माया गर्छ तबसम्म कोही कसैको आत्महत्याको कारण बन्न सक्दैनन्। कसैले भन्दा के फरक पर्छ र? त्यो गाली गजौल स्वीकार्नु नस्वीकार्नु आफनो हातमा हुन्छ। गौतम बुद्दले आफ्ना चेलालाई, ‘कसैले दिएको नराम्रो कुरा अश्वीकार गरे त्यही दिने मानिसतिर नै फर्कन्छ।” भनेका छन्।

पहिला आफू र आफ्ना अनि मात्र समाजलाई ध्यान दिँदा भोतिक अभाव एवं मानसिक तनावको व्यवस्थापन गर्न सजिलो हुन्छ। भित्र भित्र आफुलाई जलाएर उज्यालो देखिनु आफूले आफूलाई, आफ्नालाई र समाजलाई दिएको दिएको धौका हो जसले आफूलाई खरानी पार्छ भने आफ्नालाई सधैंको जलाइ रहन्छ।

मानसिक स्वाश्थ्यलाई ध्यानमा राखेर विश्व स्वाश्थ्य सॅगठनले बनाएको, ‘its okay to be not okay!’ भन्ने स्लोगन बनाएको थियो जुन हामी सबैले मनन र अनुशरण गर्दा यस्ता भयानक दुर्घटना हुनबाट बच्न सक्छ।

भगवानले त कति पीर व्यथा भोग्न परेका किंवदन्ती सुनिन्छ पढिन्छ भने हामी मानव सदा खुशी र सुखी देखिन खोज्नु भ्रम मात्र हो। आफ्नो मनोदशा सन्तुलनमा राख्न आफ्ना कमिकमजोरीलाइ पनि स्वीकार्न पर्छ।

जब मानिस सामाजिक कार्य तर्फ लाग्न थाल्छ तव आफुलाइ सर्वगुण सम्पन्न सम्झिन थाल्छ हुन त सर्वसाधारणको अपेक्षा पनि सर्वगुण सम्पन्न अगुवा चाहन्छन् जसले गर्दा आफू र आफ्नालाई जलाएर पनि मन पराइनुमा सामाजिक नेताहरु केन्द्रित भएका हुन सक्छन्।

विभिन्न किसिमका हर्मोनहरुले सुख, खुशी, दुख, निराशा जस्ता कुराहरुमा प्रभाव पार्ने हुनाले सधैं एकै नाशको सोच र आत्मवल नहुन पनि सक्छ। त्यस्तै मौसमले पनि मानिसहरुको मुडमा ठूलो प्रभाव पारेको देखिन्छ।

हुन् त सबैमा जीवन बाँच्ने कला आफ्नै खालको हुन्छ। व्यक्तिको स्वभाव, क्षमता, विवेक, आत्मबल, एकैनाश नहुन सक्छ। कति कुराहरु वंशानुगत हुन सक्छ त कति आफूले पाएको संस्कारमा पनि भर पर्छ तर योग, मानसिक व्यायाम, सरल जीवन जस्ता कृयाकलापहरुले आफूलाई चिन्न आफ्नो महत्व बुझ्न सहयोग गर्छ भने परिवार साथीसँगीसँगको खुला वार्तालापले कुण्ठा हुनबाट बचाउँछ।

आत्म हत्याको सोच भएका व्यक्तिलाई बाहिरबाट त केही गर्न सकिँदैन तर घर परिवार साथी आफन्त कतै भित्रभित्रै मानसिक पीडा लिएर बाँचेका त छैनन् भन्ने खोज्न सकिन्छ।आत्महत्याको योजना छ कि भनि सोध्न सकिन्छ। लक्षणहरुको गहन अवलोकन गर्न सकिन्छ।

भनिन्छ, आत्महत्याको योजना बनाएका मान्छेहरु कता कता हराइ रहे जस्ता देखिने, अति खुशी या दुखी देखिने, आफूलाई अत्यन्त मन परेको चिज सजिलै अरुलाई दिने, अनौठो खालको व्यवहार देखाउने जस्ता कृयाकलापहरु देखिए भने खतराका संकेत हुन सक्छ भनेर मनोविदहरु भन्दछन्।

उदाहरणीय व्यक्तिको भयानक दुर्घटना देख्दा नेपाली ‘समाजसेवी समाज’ मानसिक स्वाश्थ्यको लागि एक चोटी घोरिन पर्ने अवश्था आएको छ। आत्महत्या नियतिको चक्र होइन यो त रोजाइ हो।मानसिक दुर्वलतासँगै पलाएको कायरता हो।

जीवन आफैलाई जित्नको लागि हो।आफूलाई नै मार्नु भनेको अरुलाई मार्नु भन्दा पनि ठुलो पाप हो। मरेर गए पछि त के हुन्छ कसैले देखेको छैन तर बांचेका आफ्नालाई बाँचेर पनि मरण सरहको जीवन नदिउँ। एकैपल पलाएको राक्षशीपनलाई उपचारबाट निको पार्न सकिन्छ। सुन्दर संसारमा फुलेको जीवन अन्त्यसम्म मगमगाई रहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.