सन्यास लिएको ३ वर्षपछि मोहम्मद आमिरले सन्यास तोडे, टी-२० विश्वकप खेल्ने

डिसी नेपाल
१२ चैत २०८० १६:४०
204
Shares

काठमाडौं । पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले सन्यास लिएको तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फेरि फर्किने घोषणा गरेका छन्। आमिरले यसै वर्ष हुने टी–२० विश्वकप खेल्नको लागि सन्यास तोडेका हुन् ।

आमिर आफैंले सामाजिक सञ्जालमार्फत सन्यासबाट फर्केको जानकारी दिएका छन् । एक्समा सेयर गरिएको आफ्नो पोस्टमा उनले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष र आफ्नो परिवारसँग कुरा गरेपछि सन्यास फिर्ता लिने निर्णय गरेको लेखेका छन् ।

यो वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा टि-२० विश्वकप आयोजना गर्नेछन् । आमिरले डिसेम्बर २०२० मा सन्यास लिएका थिए । अब उनले पुनरागमन गरेका छन्, तर उनी टी–२० विश्वकपका लागि छनोट हुने वा नहुने भन्ने अझै स्पष्ट छैन । आमिर आफैले आफू चयनका लागि उपलब्ध हुने बताएका छन् ।

३१ वर्षीय आमिरले आफ्नो पोस्टमा लेखेका छन्, ‘म अझै पनि पाकिस्तानबाट खेल्ने सपना देख्छु । धेरै पटक जीवनले हामीलाई यस्तो बिन्दुमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।’

आमिरले थप लेखेका छन्, ‘म र पीसीबी अध्यक्षबीच केही सकारात्मक छलफल भएको थियो । यस अवधिमा उनले मलाई टोलीलाई मेरो आवश्यकता भएको महसुस गराए। त्यसपछि परिवारसँग कुरा गरेपछि म पनि विश्वकप छनोटका लागि उपलब्ध हुने निर्णय भएको छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.