आवश्यक तयारी पुरा नभएसम्म पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन नगरिने
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पुरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने स्पष्ट पारेका छन्।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानले काठमाडौंमा पूर्णकालीन व्यापार व्यवसाय संचालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहेपनि त्यसको विपक्षमा रहेकाहरुको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने स्पष्ट पारे।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्न धेरै पक्ष सहमत भएको अवस्थामा पनि थोरै असन्तुष्टलाई पेलेर जाने अवस्थामा आफु नरहेको उनको भनाइ छ। उनले पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन भएपछि गृह प्रशासन २४ सै घण्टा अलर्ट रहने धारणा राखे। लामिछानेले कसैको निन्द्रा र कसैको व्यापार पनि नबिग्रने गरि सबै तयारी पुरा गरेर पूर्णकालीन व्यापार व्यवसाय संचालन गरिने जिकिर गरे।
सहर २४ घण्टा खुले सुरक्षा, लाइसेन्स, नीति नियम लगायतको मापदण्ड पनि हुने र कडा रुपमा कार्यान्वयन पनि हुने उनले बताए। लामिछाने लागू औषधिको नियन्त्रणका लागि गृह प्रशासन निर्मम ढंगले लाग्ने पनि बताए।
पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनका लागि तयार पारिएको कार्यविधिका बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो। कार्यविधिमा १८ वर्षभन्दा मुनिका व्यक्तिहरुलाई प्रवेशमा रोक लगाउने, मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाइ सुरक्षित तवरले घरसम्म पर्याउने वा राख्ने व्यवस्था गर्नुपर्ने यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने लगायत उल्लेख छ।







डिसी नेपाल








Facebook Comment