सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

डिसी नेपाल
२९ वैशाख २०८१ २३:३९
20
Shares

धनकुटा। यहाँ जारी सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ। आज भएको फाइनलमा सशस्त्र प्रहरी (एपिएफ) काठमाडौंलाई शून्य–तीन गोलअन्तरले पराजित गर्दै युनाइटेड झापाले उपाधि जितेको हो।

पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले एपिएफकाविरुद्ध लगातार तीन गोल गरेको थियो। खेलको ५१औँ मिनेटमा युनाइटेड झापाका क्याप्टेन आशीष चापागाईँले पहिलो गोल गरेका थिए। त्यस्तै ६७ मिनेटमा अभिषेक गुरुङले टोलीका लागि दोस्रो गोल गरे भने अतिरिक्त समयमा देवेन्द्र तामाङले खेलको ९० मिनेटमा तेस्रो गोल गरे।

पटक–पटक गोल गर्ने मौका पाएको एपिएफले अतिरिक्त समयको ९३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन। एपिएफका सुमन श्रेष्ठले हानेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बूले रोकेका थिए।

खेलका उत्कृष्ट गोलरक्षक विजेता टोलीका गोलरक्षक सन्दीप लिम्बू, उत्कृट मिडफिल्डर उपविजेता टोलीका बुद्धिमान राई भए। त्यस्तै विजेता टोलीका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, अभिषेक गुरुङ बेष्ट फरवार्ड र आशीष चापागाईँ सर्वोउत्कृष्ट खेलाडी घोषित भए।

जितसँगै युनाइटेड झापाले नगद रु पाँच लाखसहित गोल्डकप, मेडल तथा प्रमाणपत्र पाएको छ भने र उपविजेता एपिएफले रु दुई लाख नगद, मेडल तथा प्रमाणपत्र पाएको छ। विजेता टोली र उपविजेतालाई सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेनद्रलाल श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले पुस्कार प्रदान गरेका थिए।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा हाल धनकुटा नगरपालिका वडा नं ६ निवासी श्रेष्ठलाई मृत्युदण्ड दिइएको थयो। विसं २०७४ मा सरकारले सहिद घोषणा गरिएका श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.