सेनाका रोक्काले हात पारे राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि

डिसी नेपाल
३ जेठ २०८१ २०:५०
40
Shares

लुम्बिनी। राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन्। नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा आज बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको उनीले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए। म्याराथनमा च्याम्पियन बनेका रोक्काले रु एक लाख पुरस्कार हात पारेका छन्। ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइ रु ५० हजार पुरस्कार प्राप्त गरेका छन्। हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो,सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन्।

चौथो बनेका बुढाले रु ३० हजार, पाँचौंँ बनेका श्रीष लालले रु २० हजार र छैटौंँ बनेका बोगटीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन्। बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो। प्रतियोगिता संयोजक तथा एकेडेमिका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसका अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो।

यसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेजस्तरीय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरीय खुल्ला छात्र र तीन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो। सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौँसम्म हुने खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट धावकलाई एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.