पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

डिसी नेपाल
७ जेठ २०८१ १९:०८
44
Shares

ताप्लेजुङ। ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्। श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए।

प्रथम भएका श्रेष्ठले रु एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाएका छन्। यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भएका छन्। उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए। उनले रु एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरे। तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। उनलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ। पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी भएका थिए।

महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भएकी छन्। रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन्।

यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भएकी छन्। मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भएकी छन्। महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन्।

महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी भएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए। यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ। महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन् भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ।

जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए। महोत्सवमा हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरिएका थिए। आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.