मामाभान्जा हत्याकाण्ड र राष्ट्रियता सम्बन्धी गम्भीर प्रश्न
२८ जनवरी २०२४, २०८० माघ १४ गते बिहान सबेरै सधैझैं मोबाइल निकालेर हेरेँ। मध्यरातदेखि इन्द्र दाइ र बिनोद भाइले धेरै पटक फोनगरेको मिस्डकल देखेँ। म झसंङ्ग भएँ। तत्काल बिनोदलार्ई कल ब्याक गरें।
राति १२ः१५ बजे भारतको हरियाणामा कारले किचेर कुमारलगायत चारजनाको घटनास्थलमै मृत्युभएको घटना बिबरण बिनोदले जानकारी गराउँदै, म आउदै छु, तपाईं तयार रहनुहोला भन्दै फोन कटायो। गाडीले किचेर कुमार भाइको रातिनै मृत्यु? एक्कासी टाउकोमाथि चट्याङ परेको अनुभुतिभयो मलाई।
प्यारो भतिज कुमार, हाम्रो बुबाको पहिलो नाति। हामी सबैको प्यारो छोरा, हाम्रो परिवारमा धनमाथिको रातेगेडी! एक्कासि उसको मृत्युको खबरले म स्तब्ध भएँ। मेरा खुट्टाहरु लर्बराए। तन जल्यो, मन भक्कानियो। गला अबरुद्ध भयो, छात्ती निचोरियो।
जसोतसो कपडा लगाएँ। त्यतिकैमा भतिज बिनोद पनि आइपुग्यो। हामी क्षणभरमै ब्रम्हाखेल पुग्यौं। आबश्यक सल्लाहा गर्यौं। भाइहरुले भारतीय मिडिया सर्चगरेर सिसिटिभी फुटेज र भिडियो डाउनलोड गरेर हेर्दा घटना बीभत्स र अत्यन्तै दर्दानक थियो।
चन्द्र दाइ, इन्द्र दाइ र म आफैंपनि दिल्ली जाने निश्चित भयो। प्लेन टिकट फिक्स गरियो। त्यो दिन मौसम अत्यन्तै खराब थियो। ३ः ५२ बजे एयर इन्डियाले काठमाडौंबाट-दिल्लीको निम्ति पँखेटा उचाल्यो। करिब ५ः ५५ बजे इन्दिरागान्धी बिमानस्थलमा जहाजका चक्का गुड्न थाले पश्चात बल्ल जमिन देखियो।

आबश्यक अध्यागमन प्रकृया पूरा गरिसकेर हामी ट्याक्सी पार्क पुग्यौं। दलालीकरणका थुप्रै प्रकृया पारगरेर एउटा ट्याक्सी भित्र बस्यौ। रातिको ८ः०० बज्नै लागेको थियो। सोनिपत मामाभान्जा चोकको निम्ति गुरुजीले जोडसँग ट्याक्सी हुँइक्याए।
राति करिब १०ः१५ बजे मामाभान्जा चोक नजिकैबाट रिसिभ गरेर पदम फुयालजीले हामीलार्ई क्षणभरमै लेखबहादुर कार्की दाइको घर मनमन्दिर चोक पुर्याउनु भयो। रामप्रसाद दाहाल काकालगायत दर्जन बढी आफन्तहरु हामीलार्ई कुरेर बसिरहनु भएको रहेछ।
घटनाको बारेमा समग्र पक्षमा छलफल गर्दै भोलि शवहरुको पोस्टमार्टम गर्ने जिम्मा लिएर दाहसंस्कार गर्ने र कानुनी अधिवक्तामार्फत कानुनी प्रकृयामा जाने सल्लाहा भए अनुसार टिम बिभाजित भएर हामी राम अंकलसँगै पीडब्ल्यूडी रेस्ट हाउस पुगेर आराम गर्याैं।

२७ जनवरी २०२४ अर्थात २०८० माघ १३ गते राति करिब १२ः१५ बजे हरियाणा राज्यको सोनिपतको मामा भान्जाचोकमा नियमित डिउटी सकेर आफ्नो कोठातर्फ फर्कँदै गर्दा कोठाको नजिकै स्कुटी र साइकलमा आँउदै गरेको अबस्थामा पछाडिबाट तिब्र र अनियन्त्रित रुपमा आँउदै गरेको कारले अत्यन्तै भायनक ढंगले ठक्कर दिइ किचेर चारजना नेपाली श्रमिक युवाको मृत्यु भयो भने एकजना गम्भीर घाइते बनेको अत्यन्तै दर्दनाक हत्याकाण्ड थियो त्यो।
उक्त घटनामा ज्यान गुमाउने ओखलढुगा जिल्ला मोलुङ गाउँपालिका-४ हर्कपुर, निवासी मेरो सहोदर भतिज कुमारबहादुर खत्री, सोही ठेगाना भएका भाइ खिलाबहादुर मगर, हरिवन न पा-१० सर्लाहीका भाइ अर्जुन सुनुवार र अर्घखाँची घरभइ हाल सोनिपतमै बसोबास गर्दै आएका दलबहादुर रायमाझीको घटनास्थलमै मृत्यु भयो भने मोलुङ-४ ओखलढुंगाका भाइ दिलबहादुर मगर गम्भीर घाइते भएर पनि बाँच्न सफल भएको अत्यन्तै दुखद घटना पनि हो यो।
राति अबेरतिर घाइते भाइलार्ई पनि घरमै आरम गर्नु भन्दै अस्पतालले डिस्चार्ज गरेर पठाइ दिएछ। भोलिपल्ट शवहरुको पालै पालो पोस्टमार्टम गरेर राति अबेरसम्ममा दाहासंस्कार गरियो। मैले प्राय शवलाई हेरेँ। शवहरुको अबस्था बास्तबमै हेरिसनसक्नु थियो।
अखिल भारत नेपाली एकता समाज अन्तर्गतका विभिन्न घटकमा आबद्ध नेतृत्वका साथीलगायत सैंयौ नेपाली र स्थानीय बासीहरुको उपस्थिति थियो। साथीहरुले छोटो श्रद्धाञ्जली कार्यक्रम राख्ने अनुमति माग्नु भयो। केही बेरपछि पिनु थापाजीले कार्यक्रम सुरु गर्नु भयो।
भोला राईले थोरै श्रद्धाञ्जली मन्तब्य राखेपछि मैलेपनि छोटो श्रद्धाञ्जली मन्तब्य राखेँ। साथै पीडित परिवारहरुप्रति गहिरो समबेदना व्यक्ति गर्दै उक्त घटनाको सुरु अबस्थादेखिनै विशेष पहलकदमी लिई यो अबस्थासम्म अहोरात्र खट्नुहुने सम्पूर्ण प्रवासी नेपाली एकता समाजको नेता साथीहरु, आफन्तजन, उद्धारकार्यमा जुट्नुहुने मामाभान्जा चोकका स्थानीयबासी, प्रहरी प्रशासनलगायत सुरक्षा निकायका साथी, मिडियाकर्मीलगायत यो दुःखद् घडीमा मानवीय सेवामा जुट्नुहुने सबैजनालाई पीडित परिवारहरुको तर्फबाट हार्दिक आभार ब्याक्त गर्दै विशेष धन्यबाद दिएँ। त्यहीँबाट सामाजिक संजालमार्फत मैले एउटा स्टेट्मेन्ट पनि पोस्ट गरेँ।
आफ्नो परिवारमा बिहान-बेलुकाको छाक टार्नकै निम्ति अनि काखका नाबालक सन्तानको भविश्यको खोजीमा पराइ भुमिको त्यो असुरक्षित र अनिश्चित जिन्दगीभित्र लुकेको अदृश्य कथा, ब्यथा, त्रास र आतंकको आँधी हुण्डरी मडारीरहेको थियो, त्यहाँ उपस्थित उनीहरुको मन-मष्तिष्कभित्र। उनीहरुको मनोबिज्ञान र मुखाकृतलाई गहिरिएर अध्यान गर्दा मैले त्यही कुरा पढ्न सकेँ।

एक त आफ्ना खेतबारी ,जग्गा-जमिन र खोरियाहरु बाँझै राखेर अबसरको खोजीमा बिदेसिनु आफैंमा गलत परम्परा र गलत संस्कार त हुँदैछ। परम्परागतखेती-प्रणालीको बिकल्पमा कृषिमा अधुनिक तथा बैज्ञानिक कृषि प्रणाली र अधुनिक प्रविधिको उपयोग गरेर गुणात्मक उत्पादन गरेर कृषिमै आत्मानिर्भर हुनसक्ने सम्भाबनालाई छाडेर अबसरको खोजीको नाममा मातृभुमिको बहुमूल्य हिरालाई आफ्नै पैतालाले कुल्चिएर फलाम खोज्नको निम्ति उर्जाशील जनशक्ति बिदेसीनु आफैंमा एउटा नमिठो बिडम्बना मात्र हैन, भबिष्यको निम्ति भयानक त्रासदी पनि हो।
तर जे होस् उही कथा र समान ब्याथा बोकेर पारिवारिक गुजरा चलाउनकै निम्ति पराइ भुमिमा छट्पटाइरहेका अत्यन्तै दुखी जिन्ददीहरु अनि आफ्नै नेपाली भाइबन्धुबीच एकआपसमा समस्या र बिपत्ति आइपर्दा राष्ट्रप्रेमको भावनाले ओतप्रोत नेपाली श्रमिक दाजुभाइको भिडभित्र म आफूपनि हराइरहेकोको अनुभूति भयो मलाई। बर्गीय माया र अगाध देशभक्तिपूर्ण भावनाको त्यो गहिरो सागरको बीचमा आफूपनि उभिएर ती जिन्ददीलाई नियाल्दा जीवन शर्माले गाएका जनबादी गीतको याद आयो मलाई !
डुल्दै हिँड्दा भारतमा, नेपालीको कथा भेटियो
आँसु, रगत, पसिनामा, जीवनगाथा भेटियो …
कहीँ भेटे कुल्लिसाथी, बाटो बनाउनेलाई …
परदेशी नेपालीको एउटै आबाज,
यही हो हाम्रो प्यारो, घर यही हो समाज …।
बास्तबमा ती गितहरुले बाध्यताबस मुग्लानिएका श्रमिक नेपालीको कथा, ब्यथा र भावनालाई अनि बिदेसिनु पर्ने बाध्यतालाई कलात्मक,मार्मिक अनि यथार्थपरक ढंगले अभिब्यक्त गर्न खोजेको छ। मेरोपनि भित्रीहृदय छुनसकेका अत्यन्तै मार्मिक र ओजपुर्ण गितहुन यी गीतहरु! तर त्यतिबेला यी गीतका वास्तविक अभिनयकर्ताको हुल भित्र म आफूपनि सहभागी भएर अभिनय गरिरहेको अनुभूत भयो।
मैले सबै साथीहरुको नाम लिन सम्भब नभएता पनि देवी काफ्ले, रामप्रसाद दाहाल काका, पिनु थापा, शम्भु थापा, आर बि खड्का, पदम फुयाल, भोला राज राई, राम ब. खत्री, प्रेम खत्री, हेम ब. खत्री, नुर ब खत्री, तुम ब खत्री, तेज ब खत्री, अम्मर खत्री कुल ब .राई, उमानन्द बन्जाडे, खिम बिक, रवि कार्की, लेख ब कार्की सपरिवारलगायत उपस्थित सम्पूर्ण साथी र आफन्तजन र प्रवासी साथीको साथ सहयोग र समर्थनको साथै छोटो समयमा एकापसमा गहिरो आत्मिएताको साटासाट पनि भयो। तर श्रद्धाञ्जली कार्यक्रमको बुझाइमा सबैघटक समूहबीच एकरुपता हुन नसकेको भन्ने कुराले मन अमिलो बनेर निचोरिइरहयो। तर जेहोस् प्रबासी नेपालीबीचको त्यो गहिरो एकता र देशभक्तिपूर्ण भाबनालाई हृदयदेखिनै अभिवादन एवं नमन गर्न चाहन्छु।
म एउटा कुमार खत्रीको काकाको रुपमा मात्र हैन, मेरो हैसियत, जिम्मेवारी र चेतनास्तरबाट त्यो भयाबह हत्याकाण्डका सम्पूर्ण पीडित परिवारहरुको तर्फबाट जिम्मेवारीपूर्बक पहलकदमी लिनु मेरो दायित्व र कर्तब्य पनि थियो।
भावना र दायित्वको त्यो गहिरो सागरबीचमा आफूलाई पनि एउटा सामाजिक अभियान्ताको रुपमा उभ्याउन पाउँदा उही र उस्तै प्रकारका ती समानलाई सुम्सुम्याइरहन मन लाग्यो अन्ततः लामो समयसम्म!

तर अफसोच! मृतकको घरपरिवारमा ठूलो रुवाबासी र बेदना छ। तसर्थ जतिसक्दो छिट्टो प्रकृयालाई टुंग्याएर हामी नेपाल फर्कनु पर्दथ्यो। शवहरुको दाहासंस्कार सकिसकेपछि अन्य साथी घर हिँड्न हतारिनु भयो। तर क्षतिपूर्तिको लागि सहीढंगले पहलकदमी लिनको निम्ति पनि बिदेसी भूमिमा हाम्रो सामान्य र सहज बुद्धिले सोचेजस्तो मात्र हुँदैन थियो।
बेलुका उपलब्ध मृतकका आफन्त र परिवार, उपलब्ध स्थानीय बुद्धिजिबिसहित सबैजना बसेर अबका दिनहरुमा लिनुपर्ने कानुनी पहलकदमीको बारेमा थप छलफल र सरसल्लाह गर्याैं। यद्यपि दलबहादुर रायमाझीको परिवार परम्परागत काजक्रियामा बसिसकेकोले म आफू पनि राम अंकल र पदमजीलार्ई लिएर उहाँकै घर पुगेर परिवारसँग भेटघाटगरि समबेदना ब्याक्त गरेँ।
मुद्दालाई संयुक्त रुपमा एउटै कानुनी अधिबक्तामार्फत अघि बढाउने सहमति भएपश्चात हामी पुनः मनमन्दिर चोक फर्कियौं। भारतीय कानुनका जानीफकार मित्रहरु देवि काफ्ले, राम काका, पिनु थापालगायत थुप्रै साथीबाट हत्तार नगरिइकन १,२ दिन एक्स्सरसाइज गरेर अघि बढ्दा थप प्रभाबकारी हुनेछ भन्ने सुझाबलाई कार्यन्वयन गर्न नसक्दा साथीको बीचमा म आफू कता-कता लज्जित हुनपुगेँ।
मुख्य कुरा आफूसँग रहेका साथी र मृतकका अन्य आफन्तमा सामाजिक र कुटनैतिक चेतनाको कमी हुनु र भनेको कुरालाई सही रुपमा ग्रहण गर्न नसक्नु पनि दुःखदायी हुने रहेछ। गैर राजनैतिक र न्यून सामाजिक चेतनाको दोस्ती खेदेर पराइ भुमिमा कुटनैतिक पहलकदमीको प्रयास गर्न साँच्चिनै कठिन हुने रहेछ भन्ने कुराको गहिरो अनुभूति पनि भयो मलाई।
तर जेहोस् धेरै मेहेनत गरेर स्थानीय अधिबक्ता जिके हुड्डालार्ई आबश्यक काजजातसहित मुद्दा जिम्मा लगाएर हामीले बेलुकापख दिल्लीको निम्ति बस चढ्यौं। सर्फदरजंग मेट्रोपार्क नजिकै प्रेम भाइ (खड्ग ) र रोहित दाइको घर अर्थात मिनि खारबेसी भित्र प्रबेश गर्याैं।
आजभन्दा करिब चारदशक अघि रोजगारीको शिलसिलामा मुग्लानिएका हेमबहादुर, रोहित, नुर बहादुर, प्रेमहरु हाम्रा भाइबन्धु हुन्। उहाँहरुका छोरा–छोरी, नाति नातिना र ज्वाइँसहित तीन दर्जन भन्दा बढी जनसंख्या भएको मिनि खारबेसीमा राति अबेरसम्म बेडपार्ट्नरको रुपमा गफियौ प्रेम र म। प्रेम हाम्रो भतिज हो।
२०५० सालदेखि आजसम्म तीन दशक अर्थात ३० बर्ष बितिसकेछन्, हामी काका भतिजको भौतिक रुपमा भेट नभएको। आज हामी गफिँदै सँगै लम्पसार पर्याैं।
०३७-०३८ सालतिर हुनुपर्छ खारबेसिमा आलुबारिमा आउने बाँदरहरु धपाउने उट्पट्याङ गोठालाहरुको उपद्रो स्वरुप तल्लो डिहीको खरबारी पाखामा आगोलगाइ खेल्दा आगोमा पुरै शरीर जलेर मुस्किलले बाँचेको नाफाको जिन्दगी हो प्रेमको पनि। अल्लारे केटा–केटीको उपद्रोले झण्डै ज्यानगएको कहालिलाग्दो दुर्घटना थियो त्यो।
दिल्लीस्थित नेपाली दूताबास पनि जानु छ। मैले हत्तार-हत्तार ज्ञापनपत्र तयार बनाएँ अनि राजदूत डा शंकर शर्मासँग समय मिलाएँ। मैले ढिला नगरी उहाँलाई सम्पर्क गरे। राजदूतले १२ः३० बजे भेटघाटको समय दिनुभयो। सिताराम खत्रीभाइले कुशलतापूर्बक पथप्रदर्शन र रुटको नेतृत्व गर्दै तिब्र गतिको मेट्रोरेल मार्फत निर्धारित समय अगाबै गोलचक्कर पार्क पुर्यायो।
काउन्सलर उमाप्रसाद चक्रबेदीसँग केही समय भलाकुसारी पश्चात् राजदूत डा शंकर शर्मासँग भेट भयो। डा. शंकर शर्मा ओखलढुंगाकै माटोमा जन्मिएर त्यहीको दानापानीले हुर्काएको ब्याक्तित्त्व भएकोले पनि हाम्रो लागि थप सहज अनुभूति भयो।
घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, उपलब्ध भिडियो, फस्र्ट इन्फर्मेसन रिपोटलगायत आवश्यक कागजात उपलब्ध गरायौं। पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको निम्ति दूताबास निरन्तर लागिरहनुको साथै कुनै पनि हालतमा मुद्दालाई कमजोर हुन नदिन दूतावासले निरन्तर अभिभाबकत्व प्रदान गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
करिब १ घण्टा ३० मिनेटको दूताबासको बसाइपछि हामी पुनः सोहीरुट सर्फदरजंग फिर्ता भयौ र दिल्ली-काठमाण्डौको बसमार्फत काठ्माडौं फर्कियौं।
काठमाडौं आएपछि पनि म आफू पहलकदमी लिने अभियानमै केन्द्रित रहें।
पार्टी केन्द्रीय उपमाहासचिब गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य करुणा ढुंङेलको समय मिलाएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरि, उक्त घटनासँग सम्बन्धित आबश्यक डकुमेण्ट र कागजातसहित ज्ञापनपत्र बुझायौं। घटनाका पीडित परिवारलाई उचित राहात तथा क्षतिपूर्तिको निम्ति नेपाल सरकारको तर्फबाट पहलकदमी लिइदिन अपिल गर्याैं।
आफ्नो देशको निम्ति श्रम पसिना बगाउने श्रमिकको जीवन रक्षाको निम्ति विशेष सतर्कता अपनाउन भारत सरकारको बिशेषध्यानआकर्षण गराइदिन पनि अपिल गर्यौं।
स्वदेशमै ज्यालादारी मजदुरी गरेर जीबिकोपार्जन गर्ने अबसरसमेत नपाएर, दैनिक सयौको संख्यामा नेपाली युवा युवती शारीरिक एवं बौद्धिक श्रमलाई कौडीको मूल्यमा बेच्दै, आफ्नो सुन्दर भबिश्यको परिकल्पनामा पुरै जिन्दगी बेच्नको निम्ति छिमेकी मुलुक भारत, खाडीलगायत बिश्वका कुना-कुनामा पुगेर अत्यन्तै कष्टकर र काहाली लाग्दो जीवन बिताउँदै गरेको अत्यन्तै दर्दनाक अबस्थालाई स्मरण गरायौं।

कोही यसैगरी जीवन गुमाउने त कोही बाकसमा प्याकभएर दैनिक जसो नेपाल फर्किनुपर्ने नेपाली युवाको काहाली लाग्दो विवशतालाई अन्त्य गर्न आफ्नै मुलुक भित्रका प्रचुर सम्भाबनाको यथाशिघ्र पहिचानगरी बिकाश निर्माणका सम्भाबना खोजी तत्काल रोजगारीका अबसरहरु सृजना गरेर स्वदेशमै आत्मानिर्भर अर्थतन्त्रको बिकास गर्नको निम्ति राष्ट्र प्रमुखको हैसियतबाट तत्कालपहल कदमी लिनपनि विशेष अपिल गर्याैं।
त्यसैगरी जिल्लाका जनप्रतिनिधि रामहरि खतिवडासहितको टिम लैनचौरस्थित भारतीय दूताबासमा गयौं र घटनासँग सम्बन्धित फुटेज र भिडियो अनि आवश्यक कागजातसहित ज्ञापनपत्र बुझाउँदै भारत सरकारको ध्यानाकर्षण गरायौं।
आफ्नो मुलुकलाई सम्बृद्ध बनाउन छिमेकी मुलुकबाट आएर श्रम-पसिना बगाउने श्रमिकहरुको भौतिक जीवन रक्षाको सुनिशश्चित गर्दै उक्त घटनाको सत्य तथ्य र न्यायिक छानबिन गरि पीडित पक्षलाई उचित क्षतिपूर्तिको निम्ति पहल गरिदिन अपिल गर्याैं।
त्यसैगरी कुपण्डोलस्थित नेकपा (माओबादी केन्द्र) प्रवास समन्वय समितिको कार्यलय पुगेर समितिका सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा र सचिव टेकबहादुर पाठकसँग भेटघाटगरी घटनाको जानकारी गराउँदै आवश्यक पहलकदमी लिइ दिनुहुन विशेष अपिल गरियो।
यसरी उक्त घटनाको जानकारी पाएदेखि आजसम्म पीडित परिवारलार्ई न्याय र उचित क्षतिपूर्तीको निम्ति पीडित परिवारकोतर्फबाट पहलकदमी लिने क्रममा कहीँ कतै कुनै पनि कसर बाँकी राखिएको छैन होला कि जस्तो लागेको छ। र अझै पनि लागिरहने छु।
म आफू प्रत्यक्ष रुपमा घटनापछि पहल कदमी लिइरहँदा समग्रमा सोनिपतको मामाभान्जा चोकमा ४ जना नेपाली श्रमिकको टाउका र छात्ती माथी दौडिएका इको स्पोर्ट कारका चक्काहरु स्वयं मेरो आफ्नै छात्ती र टाउको माथि मात्र हैन, समुन्नत नेपाल र नेपाली राष्ट्रिय स्वाधिनतामाथि नै दौडिरहेको अनुभूति भयो मलाई।
भयानक आत्म पीडाले चर्किएको छात्तीलाई एउटा हातले अँचेट्दै-अँचेट्दै त कैयन पटक आफैंले सुम्सुम्याउँदै जानेको र सकेकोजति पहल गरिरहेको छु। यो घटना पीडित परिवारसँग मात्र सम्बन्धित घटना नभइ, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतासँग जोडिएको गम्भीर घटना हो भन्ने मेरो ठम्याइ रहेको छ।
उक्त घटनाले मलाई सिकाएको गम्भिरपाठ भनेको राष्ट्रियता अनि देशभक्तिपूर्ण भाबनानै हो। अब पनि सम्पूर्ण देशभक्त नेपालीहरुको बीचमा राष्ट्र, राष्ट्रियता, सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा यथाशिघ्र राजनैतिक सहमति र राष्ट्रिय एकता कायम हुन सकेन भने यो राजनैतिक लुछाचाँडीबाट आजित उर्जा र क्षमतावान जनशक्ति देशबाट पलायन हुँदै जाने, हाम्रा गाँउबस्ती बाँझिने,उजाडिने अनि पुरै खाली हुँदै जाने, विभिन्न देशी-बिदेशि संघ संथाहरुको नाममा विभिन्न अप्रत्क्ष शक्तिहरुको चलखेल हुने र हाम्रो महत्वपूर्ण र बहुमुल्य प्राकृतिक श्रोत,साधन र खनिजसम्पदा माथि क्रमिक रुपमा हस्तक्षेप हुँदै जाने र अन्ततः केही लोभी-पापी र बद्मास नेतृत्व र अगुवाको हातमा खजानाको खात लगाएर नेपालमा जातीय, धार्मिक र साम्प्रदायिक दंगा भड्काएर अस्थिरता सृजना गर्ने र पराइभूमिका एजेन्टहरुले हाम्रा सम्पदामा लोभी आँखा लाउने तथा कुम्लोपार्ने खतरा पनि टड्कारो छ।

त्यति मात्र हैन, सोनिपतको मामाभान्जा चोकको त्यो भयावह दृश्य र अन्य थुप्रै-थुप्रै दृश्यहरु, मिलिनियम च्यालेन्ज कर्पोरेसन परियोजना वा अन्य जुनकुनै प्रकारका मुलुकको हित बिरोधि सन्धी सम्झौताहरु बनेर भोलिका दिनहरुमा हाम्रो मातृभूमी अन्ततः पराइमान्छेकोे खेल मैदान बन्ने खतरा टड्कारो रुपमा देखिँदै गएको छ।
प्राकृतिक श्रोत,साधनले सम्पन्न हाम्रो मुलुकमाथिको पटक-पटकको छिमेकी तथा अन्य पराइमान्छे हरुको प्रतक्ष वा परोक्षरुपमा हुनेगरेका अराइ–सिकाइ र हस्तक्षेपले त्यही कुरालाई संकेत गरिरहेको अनुभूति हुन्छ।
अन्त्यमा सोनिपतको मामाभान्जा चोकको घटनाको मुद्दालाई हर हालतमा कमजोर हुन नदिन नेपाल सरकार, दिल्लीस्थित नेपाली दूताबास, विभिन्न राजनैतिक दलहरु, तीनका बिदेश-प्रवास विभागहरु, आमसंचार र मिडियाकर्मी साथी, मानवाधिकारबादी संघ-संस्थालगायत विभिन्न सामाजिक र सरोकारवाला निकायसँग हार्दिक अपिल गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ती प्रदानगर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु। उक्त घटनामा जीवन गुमाउनु हुने श्रमजिबी नेपाली युवाप्रति भाबपूर्ण श्रद्धा सुमनअर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदना ब्यक्त गर्दछु।
राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मासम्मानको रक्षाको निम्ति एकताबद्ध भइ यथाशिघ्र राष्ट्रियएकता कायम गर्न सम्बद्ध सम्पुूर्ण राजनैतिक दल, सामाजिक संघ–संथा, विभिन्न सरोकारवाला निकायसहित सम्पूर्ण देशभक्त नेपाली समक्ष बिनम्र अपिल गर्दछु।
भारतमा कारले ठक्कर दिँदा साइकलमा चढेका ४ नेपालीको मृत्यु, एक नेपाली गम्भीर
















Facebook Comment