राष्ट्रिय चेस च्याम्पियनसीप प्रतियोगिता हुँदै
काठमाडौं। नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेण्ट म्यानेजमेन्टको आयोजनामा यही जेठ १९ देखि २४ गतेसम्म राष्ट्रिय चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ। महासंघले आज यहाँ पत्रकार सम्मेलन गरी लाजिम्पाटस्थित हिमालय होटलमा २४औँ खुला एवं नवौँ महिला राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो।
राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसीपको दुवै विधामा १२र१२ जना खेलाडी सहभागिता रहने बताइएको छ। नेशनल ‘बी’ च्याम्पियनसिपबाट छनौट भएका पुरुष र महिला नौरनौ जना तथा २३औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरु सहभागिता हुने जनाइएको छ। राष्ट्रिय प्रतियोगितामा २३औँ नेशनल च्याम्पियनसीपका विजेता रुपेश जयसवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा र आठौँ नेशनल च्याम्पियनसीपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र शान्ति धिमालले प्रतिष्पर्धा गर्नेछन्।
हालै भक्तपुरमा सम्पन्न नेशनल ‘बी’ बाट छनौट भएका खेलाडीहरु पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजिव कार्की र श्रुसुरत दाहालले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। त्यसैगरी महिला प्रतिस्पर्धीबाट नेशनल ‘बी’ मा छनौट भएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापती, पूनम प्रसाईँ, श्रेया दुवाल र सविना गुजले प्रतिस्पर्धा गर्नेछन्।
सुरवीर लामा थाइल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेका कारण वैकल्पिक खेलाडी खुलामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उनीहरुको स्थानमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। त्यसैगरी, सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडको लागि पुरुषतर्फबाट तीन जना र महिलाबाट चार जनाले सहभागिता सुनिश्चित गर्नेछन्।
प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसीपमा शीर्ष तीनमा रहने खेलाडीले आगामी वर्ष हुने २५औँ खुला तथा दशौँ महिला राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल ‘बी’ मा प्रतिस्पर्धा गर्नुपर्नेछ । च्याम्पियनसीपको अनुमानित लागत रु १३ लाख ५० हजार रहेको आयोजकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment