समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने

डिसी नेपाल
१९ जेठ २०८१ ६:२२
24
Shares

काठमाडाैं। जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ।

सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए।

उनले भने, “क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ। जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुने छ।”

अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून संख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए। उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ।

यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *