निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको छ : अर्थमन्त्री पुन
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन्। प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जनाए।
अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताए। उनले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए।
अर्थतन्त्र पूर्ण रुपमा गतिशील अवस्थामा आइनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको अर्थमन्त्री पुनले बताए।
मुद्रास्फीति न्यून विन्दुमा रहेको तथ्य पेस गर्दै हरेक घरको भान्सामा पर्ने मूल्यवृद्धिको चापलाई नियन्त्रण गर्ने गरी प्रयास गरिएको उनको भनाइ छ।
संकुचित भएको साधन र स्रोतलाई विश्लेषण गरेर बजेट प्रस्तुत गरिएको भन्दै सबै क्षेत्रले सन्तुलित बजेट आएको टिप्पणी गरेका अर्थमन्त्री पुनले बताए। अर्थमन्त्री पुनले आगामी बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको दाबी गरे।
अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे।
“बजेट बनाउँदै गर्दा स्रोतको संकुचनको अवस्था हामी सबैले महसुस गरेका थियौं। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भने, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।”
आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेकाे सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ। विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ।
“समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन्। हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन्।”
निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भंग नगरेको उनले बताए।
गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ। “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही सङ्कुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।
गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो”, उनले भने, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ र बिस्तारै गतिशील बन्दै गएको छ । हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौं।”







डिसी नेपाल







Facebook Comment