झापा नाकाबाट हुने नेपाल–बंगलादेश व्यापार निरन्तर घाटामा

डिसी नेपाल
२५ जेठ २०८१ १७:११
84
Shares

भद्रपुर। नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बंगलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ। कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बंगलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकडभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल—बंगलादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ। आव २०७०/०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ।

मेची भन्सार कार्यालय काकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बंगलादेश निर्यात रु २३ करोड ७४ लाख ३९ हजार हुँदा आयात रु तीन अर्ब १७ करोड ९९ लाख बढी भएको छ। उनका अनुसार आव २०७८/०७९ मा नेपालले बंगलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो। त्यस वर्ष आयात रु ११ अर्बभन्दा बढी हुँदा निर्यात भने रु ६३ करोडमै सीमित हुन पुगेको थियो।

गोदाम व्यवस्था कम्पनीको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्षयता नेपालबाट हुने निर्यात बंगलादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ। आव २०७१/०७२ देखि नेपालबाट निर्यात कम र बङ्गलादेशबाट आयात निरन्तर बढिरहेको छ।

हाल दाल, जडीबुटी, मोलासिस, खाद्यपदार्थ, पशु आहाराका लागि कच्चापदार्थ, खयरकत्था, रंगरोगनका पदार्थ मुख्य निर्यात हुने वस्तुहरु हुन् भने जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड—एसिड ब्याट्री, कपडा, फलफूलका जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका मालवस्तु बढी आयात हुनेमा पर्छन्।

भन्सार एजेन्ट नवीन दाहालले नेपालबाट निर्यात हुने वस्तुमा बंगलादेशले भन्सार महसुल धेरै लगाएको र उताबाट यहाँ आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर छ। भन्सार महसुल कम गर्न सकेमा बंगलादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु र अन्य कृषिजन्य उत्पादन नेपाली व्यवसायीहरूले निर्यात गर्न सक्ने उनले बताए।

बंगलादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यावसायीहरुको भनाइ छ।

बंगलादेशले भारतबाट निकासी हुने कतिपय उस्तै वस्तु नेपालबाट निर्यात गर्दा बढी भन्सार महसुल लिने गरेकाले निर्यात घटेको भन्सार एजेन्ट दाहालले बताए। द्विपक्षीय व्यापारमा यीलगायत अन्य समस्या समाधान गर्न सकेमा बंगलादेशमा निर्यात बढाउन सक्ने उनको भनाइ थियो।

नेपाल–बंगलादेश द्विपक्षीय व्यापार सम्झौतामा सुधार गरी निकासी गर्ने नयाँ मालवस्तु पहिचान गर्न सकेमा निर्यात बढ्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकडभिट्टाका निमित्त प्रमुख पाण्डेय बताउँछन्। ‘बंगलादेशमा उच्च माग रहेका वस्तु पहिचान गरी नेपालबाट निकासी गर्न सकेमा धेरै लाभ उठाउन सकिन्छ’, उनले भने।

नेपालको पूर्वी नाका काकरभिट्टाबाट भारत पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरी नाका बंगलाबन्ध हुँदै जान्छ। सुरुआतमा यो रुटबाट नेपाल—बंगलादेशबीच मात्रै व्यापार हुने गरेकामा पछिल्लो समय भारत र भुटानले समेत बंगलादेशसँग व्यापार गरिरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ सञ्जीव कुमार बताउँछन् ।

बंगलाबन्ध नाका प्रयोग गरी भुटानले दैनिक औसतमा १५० बढी टिप्पर ढुंगा गिट्टी बंगलादेश निर्यात गरी आर्थिक लाभ लिइरहेको फूलबारी भन्सारका ‘सुपरिटेन्डेन्ट’ कुमारले बताए। ‘भारतले पनि ढुंगा गिट्टीलगायत अन्य मालवस्तु यही नाकाबाट बंगलादेश निर्यात गरिरहेको छ’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *