टी-२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित
काठमाडौं। आइसिसी टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ।
गुयनाको प्रोविडेन्स रंगशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो। युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक रन बनाउन सकेनन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेष्टइन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिएभने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो।
वेस्टइन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे। कप्तान रोभमन पावेलले २३, सफर्यान रुदरफोर्ड र निकोलस पुरनले समान २२-२२ रन बनाए। ब्रेन्डन किंगले १३ रन जोडे।
युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए। त्यस्तै अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक-एक विकेट लिए। यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्टइन्डिजले चार अंक जोडेको छ। तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अंकमा सीमित छ।







डिसी नेपाल







Facebook Comment