न्यूजिल्याण्डलाई हराउँदै वेष्ट इण्डिज सुपर ८ मा, न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिने खतरा
काठमाडौं । विश्वकप क्रिकेटमा आज भएको खेलमा न्यूजिल्याण्डलाई हराउँदै वेष्ट इण्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूह चरणमा अहिलेसम्म ३ खेल खेलेको वेष्ट इण्डिज सबै खेल जित्दै ६ अंकसहित सुपर ८ पुग्ने निश्चित भएको हो ।
अहिलेसम्म २ खेल खेलेर दुवै हारेको न्यूजिल्याण्ड भने बाहिरिने खतरामा परेको छ । यसअघि न्यूजिल्याण्डले अफगानिस्तानसँग पनि हारेको थियो । न्यूजिल्याण्ड अहिले समूहको पुछारमा छ र उसको नेट रनरेट समेत माइनसमा छ । यस्तोमा उसले बाँकी दुवै खेल जितेर पनि सुपर ८ मा पुग्ने सम्भावना कम छ ।
यो समूहमा वेष्ट इण्डिजले ३ खेलमा तीनवटै जितेर शीर्ष स्थानमा छ भने अफगानिस्तान २ खेलमा दुवै जितेर दोस्रो स्थानमा छ । न्यूजिल्याण्डले अब पपुआ न्यू गिनी र युगाण्डासँग खेल्न बाँकी छ । यी दुवै एसोसिएट राष्ट्र हुन् र तुलनात्मक रुपमा कमजोर मानिन्छन् ।
न्यूजिल्याण्डले अब बाँकी दुवै खेल जित्दै नेट रनरेटमा पनि सुधार गर्न सक्ने अपेक्षा गरिएको छ । तर, दुवै खेल जित्दा पनि उसलाई सुपर ८ पुग्न कठिन छ किनकि दोस्रो स्थानको अफगानिस्तानले वेष्ट इण्डिज र पपुआ न्यू गिनीसँग खेल्न बाँकी छ । तुलनात्मक रुपमा बलियो वेष्ट इण्डिजसँग अफगानिस्तानले हार्न सक्छ तर उसले पपुआ न्यूगिनीलाई जित्ने सम्भावना उच्च छ । यस्तो भयो भने न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिनेछ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले निर्धौरित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।







डिसी नेपाल







Facebook Comment