विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा

डिसी नेपाल
१० असार २०८१ ६:०६
168
Shares

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत सुपर-८ को खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले गएराती अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै पनि विकेट नगुमाई भेटायो। इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो। नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिकसहित चार विकेट लिए । स्याम करन र आदिल राशिदले २-२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए।

जितपछि सुपर-८ को समूह २ मा तीन खेलबाट चार अंक बटुल्दै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ। समान २-२ खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अंक छ।

आज बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.