साहित्यका ‘मोति’ मोतीराम
“दुई अँखिभौं तयार छन्, तरवार पो किन चाहियो।
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो।” -मोतीराम भट्ट
नेपाली साहित्यका गजल शिरोमणि युवाकवि मोतीराम भट्टको जन्म वि.सं. १९२३ कृष्णऔंसी (कुशेऔंसी) का दिन काठमाडौंको भोसीको टोलमा भएको थियो।
सानै उमेरमा नै उनी आमासँग काशीको बनारसमा गएर पढ्ने अवसर पाएका थिए। उनी आठ वर्ष पुग्दा काशीमा नै उनको व्रतबन्ध भयो। व्रतबन्ध भएपछि पनि उनी उतै बसेर संस्कृत र फारसी भाषा पढ्न थाले। वि.सं. १९३७ मा उनी काठमाडौंमा फर्के।
त्यसबेलाको रीतिथिति अनुसार उनको विवाह भयो। विबाह पश्चात् मोतीरामले पत्नीलाई पनि साथमै लिएर काशी गए र त्यही अङ्ग्रेजी भाषा साहित्य पढ्न थाले। मसिनो र सुरिलो स्वर भएका मोतीराम संगीत र बाध्यबादनमा रुचि राख्दथे।
भारतका हरिश्चन्द्रसँग भाषागत ज्ञान र काठमाडौंको दरबार हाइस्कुलबाट स्कुलसम्म पढे। एम.ए.सम्मको अध्ययन भारतमा नै गरे। मोतीराम भट्टले नेपाली भाषा बाहेक संस्कृत, अङ्ग्रेजी र फारसी पढेका थिए। उर्दू, हिन्दी, बंगाली र नेवारी भाषामा पनि दख्खल थिए।
मोतीराम भट्टका तीन दर्जन प्रकाशित साहित्यिक कृतिहरु छन् भने आधादर्जन बढी अप्रकाशित कृतिहरुका पाणुलिपि भेटिन्छन् प्रकाशित कृतिमध्ये पिकदूत, प्रल्हाद भक्तिकथा, गजेन्द्रमोक्ष, उषाचरित्र, प्रियदर्शिका नाटिका, भानुभक्त आर्चायको जीवन चरित्र र मोतीराम भट्टका गजलहरू ज्यादै लोकप्रिय छन्। उनले गद्य र पद्य दुवै विधामा कलम चलाएर नेपाली भाषा साहित्यमा लेखन प्रतिभाको चमत्कार गरे।
मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। भानुभक्तलाई चिनाउने काम पनि मोतीरामबाटै भएको हो। भट्टले एकपटक बिहेमा जन्ती जाँदा जुवारी खेलेको श्लोक औधी मन पराए।
धेरै नबोल्ने सरल, शान्त र सहृदयी प्रवृत्तिका मोतीराम भट्टले वि.सं. १९४८ मा एक कार्यक्रममा मञ्चबाटै पहिलो पटक भानुभक्तलाई ‘आदिकवि’ को नामले सम्बोधन गरेपश्चात् भानु ‘आदिकवी भानुभक्त’ कहलिएका हुन् भन्ने बुझिन्छ ।
नेपाली साहित्यमा गद्य लेखन ज्यादै राम्रो परिष्कृत र उच्चस्तरीय भएका कारण मोतीराम भट्टले भानुभक्तको जीवनी लेखेर भानुलाई नेपाली साहित्यिक उज्यालोमा ल्याएका थिए।
भानुको जीवनी प्रकाशनमा आएपछि नेपाली साहित्यका प्रथम जीवनी लेखक पनि मोतीराम भट्ट हुन् भन्ने चर्चा कहलियो। त्यतिमात्र होइन , भानुभक्तको जीवनी छापिए संगै नेपालमा छापाखानाको आरम्भ भएको श्रेय पनि उनैलाई जान्छ।
नेपाली भाषासाहित्य लेखनमा लेख रचना र साहित्यिक कृतिहरुको स्तरीयता मापन गर्न त्यसले सामाजिक, राजनैतिक र न्यायीक क्षेत्रमा कस्तो सन्देश दिएको छ भनेर बुझ्न् नेपाली साहित्यमा पहिलोपटक समीक्षा गर्ने थालनीको सुरुवात पनि गरे।
उनले मोतीकृष्ण पुस्तकालयको स्थापना गरे। यसका साथै पाशुपत छापाखाना खोले। र नेपाली भाषाको पहिलो गोरखा भारत जीवन नामक पत्रिका निकाले। यसरी हेर्दा भट्टले साहित्यमा मात्रै नभइ नेपालको पत्रकारिताको क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका बुझ्न् सकिन्छ।
सन् १९४५ ताका उनले अङ्ग्रेजीमा लेखेको एक अटोग्राफ बाहिर आएपछि उनमा सुन्दर हस्तलेखन कला रहेको हामी थाहा पाउन सक्छौं। बनारस पढेको र त्यहाँको परिवेशसँग प्रत्यक्ष साक्षात्कार गरेको हुनाले उनले अंग्रेज उपनिवेशलाई राम्ररी बुझेका थिए।
अंग्रेज र उनीहरुको कुटनीति बुझ्न् भट्टले My Boy Jack, A Ray Of Sunlight जस्ता अंग्रेजी पुस्तक अध्ययन गरेको इतिहास पाइन्छ ।
तत्कालीन समयमा उनले नेपाली स्वाधीनताबारे यसरी कविता पनि लेखेका छन् :
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन् थर्कोस् थरथर गरी छिन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कंचन् रहिगयो ।
कवि मोतीराम भट्ट धेरै बाँचेनन्। युवावस्थामै नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु-याएका भट्टको निधन ३० वर्षकै अल्पायुमा विसं १९५३ साल जन्मेकै दिन कृष्णऔँसी (कुशे औँसी) कै दिन काठमाडौंमा निधन भएको थियो।
आफूले संसार छाड्ने बेलामा उनले आफ्नी आमालाई भनेका थिए “आमा तपाईंलाई मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो। तर किन्चित चिन्ता नलिनु गजेन्द्रमोक्ष, प्रल्हादभक्ति आदि म देखि पैदा भएका जति ग्रन्थ छन् ती नै मेरा अमर सन्तान् हुन् तिनीहरू कल्पान्तजीवी हुन् मैले पढेका जति किताब छन्, तिनबाट कसैको उपकार हुन्छ भने उपकारै गरी बक्सिएला, कुनै लाइबेरीमा राखी दिने बन्दोबस्त हुन सक्तछ भनेे त्यसै गरी दिए पनि हुन्छ। जसबाट मैले अनेक ज्ञान पाएँ, ज्ञान बाढ्नु तर बेचेर नखानु।”
आज उनको भौतिक रूप हामी माझ नभए पनि, उनी आफ्ना कृतिहरूकारण पाठहरुमाझ बाँचिरहनेछ। नेपाल र नेपाली साहित्यकाशमा उनी चम्किलो नक्षेत्र रहिरहनेछन् माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता मोतीराम भट्टको जन्मजयन्तीको हार्दिक शुभकामना।
















Facebook Comment