पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाउने पलेशालाई एनसेलले सम्मान गर्ने

डिसी नेपाल
१८ भदौ २०८१ २०:५६
32
Shares

काठमाडौं। पेरिसमा जारी पारा ओलम्पिक २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारा ओलम्पिक २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ। एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो।

एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

‘म एकदमै हर्षित छु। तेक्वान्दोको यात्रा शुरु गरेको हिजोमात्र जस्तो लाग्छ, त्यति बेला पाराओलम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइन। मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ। मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें। साँच्चै म एकदमै खुसी छु। यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु।,’ पलेशाले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘मेरो यस यात्रामा मैले धेरै अविश्वसनिय व्यक्तित्वहरुसँग भेटे र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ। यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षक लगायत एनपीसी नेपाल, मेरो स्पोन्सर्स तथा मेरो साथीहरुलाई धेरै–धेरै घन्यवाद दिन चाहन्छु। गत वर्ष एसियन पारा गेम्स् देखि मेरो परिवार जस्तै बनेको एनसेललाई उहाँहरुको साथ, हौषला र म प्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु। यो जितसँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक छु।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो। एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं।’

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो। यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारा ओलम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *