सरकार फेरिन सक्छ : वर्षमान

डिसी नेपाल
१३ माघ २०८१ १७:१८
1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकार फेरिन सक्ने बताएका छन्। पूर्वअर्थ मन्त्रीसमेत रहेका पुनले माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आइतबार राजधानीमा गरेको एक कार्यक्रममा राजनीतिक नेतृत्व फेरबदल हुन सक्ने र यस्तो हुँदा पनि विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका हुन्।

‘हाम्रोमा मिश्रित निर्वाचन प्रणाली छ। सरकार फेरिरहन सक्छ। तर, नीतिगत निरन्तरता भयो भने रिजल्ट आउँछ,’ उनले भने। नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको उनले बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भएका बेला ०६५ सालमा ऊर्जा क्षेत्रमा लगानीको श्रोत नखोज्ने, १० वर्षसम्म आयकरमा छुट दिने तथा पब्लिक, प्राइभेट, पार्टनरसिप (पीपिपी) मोडलमा आयोजना विकास गर्ने नीति ल्याएको र त्यही कारण लोडसेडिङ अन्त्य भएर भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात गर्ने वातावरण बनेको पुनले उल्लेख गरे।

यस्तै सिमेन्ट उद्योगका लागि चाहिने विद्युत उद्योगसम्म सरकारले निःशुल्क लगिदिने र खानीसम्म पहुँच सडक निर्माण गरिदिने नीतिका कारण सिमेन्ट उद्योग आत्मनिर्भर भएर भारत निकाशी गर्ने अवस्थामा पुगेको पुनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *