सिटी मुस्किलले पुग्यो च्याम्पियन्स लिगको प्लेअफमा

डिसी नेपाल
१७ माघ २०८१ ९:१९
288
Shares

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ। बेल्जियमको क्लबबर्गलाई बिहीबार बिहान राति ३-१ को जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो।

च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले सिधै नकआउट‌ चरणमा पुग्छन्। बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौंदेखि २४ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ खेल हुने छ। त्यसको बिजेता अन्तिम १६ मा‌ प्रवेश गर्नेछ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। प्ले अफको सम्भावनालाई‌ जीवित राख्न सिटीलाई जित आवश्यक थियो। सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो। दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भयो। पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरे। ६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।

८ खेलमा ३ जितसहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो। समान ११ अंक जोडेको क्लब बर्ग २४ औं स्थानमा रहेर प्ले अफमा पुगेको छ। च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब एट्लान्टासँग बराबरी रोकिएको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले एट्लान्टासँग २-२ को बराबरी खेलेको हो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीका लागि एन्डर्सन र मारिओ पासालिकले गोल गरे। बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अरौजोले गोल गरे।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाका लागि यामलले खेलको ४७औं मिनेटमा गोल गरेका थिए। एट्लान्टाका लागि एन्डर्सनले ६७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई फेरी अग्रता दिलाएका थिए। तर, ७९औं मिनेटमा मारिओ पासालिकले गोल गर्दै एटलान्टालाई हारबाट जोगाएका थिए।

बराबरीपछि पनि बार्सिलोना च्याम्पियन्स लिगको ८ खेलमा १९ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ। २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ।

समान खेलबाट १५ अंक जोडेको एट्लान्टा नवौं स्थानमा रहेको छ। एट्लान्टाले प्लेअफमा स्थान पक्का गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.