जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष प्रचण्ड

डिसी नेपाल
२४ फागुन २०८१ १२:५८
56
Shares

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्।

‘साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ,’ उनले उल्लेख गर्दै भने, ‘राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन।’

आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको र यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको उनले बताए।

‘यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ,’ उनले भने ‘यद्यपि व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन सकेको छैन। त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु।’

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धि हासि गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ र अहिले जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियानले महिला लगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरुक, संगठित र आन्दोलित गर्ने कुरा व्यक्त गरे।

विज्ञप्तीमा ८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र संगठितरुपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।




प्रतिक्रिया

One thought on “जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष प्रचण्ड

  1. तिमी हरु जस्तो चोर भ्रस्ट नेता ले गर्दा देश डुबी सक्यो जहाँ गयो त्यही ठिक्क पार्ने भाषाण ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *