मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल

डिसी नेपाल
२४ फागुन २०८१ २०:५३
80
Shares

चन्द्रपुर (रौतहट)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राखेका छन्।

आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गरे। उनले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्सन नहुने बताए।

मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उनले बताए। यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उनले बताए।

तराई मधेसका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष दाहालले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राखे। विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उनको भनाइ छ। तराई मधेसका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उनले बताए। यस यात्रा बहुआयामिक उद्देश्यले हिँडेको अध्यक्ष दाहालले उल्लेख गरे।

केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। अध्यक्ष दाहालले आजै दुर्गाभगवती गाउँपालिका, गौर तथा विभिन्न स्थानमा गएर कार्यकर्ता भेटघाट गरेका थिए। उनले बिहान गरुडाका व्यापारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए।

यसैबीच अध्यक्ष दाहाललाई आजै गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै उनले सार्वजनिक जमिन रक्षाका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *