इङ्ल्याण्डका ब्याटर ह्यारी ब्रुकलाई आइपीएलमा २ सिजनको प्रतिबन्ध
काठमाडौं । अन्तिम समयमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ बाट नाम फिर्ता लिएपछि इङ्ल्यान्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई दुई सिजनको प्रतिबन्ध लगाइएको छ।
अब उनी २०२५ र २०२६ को आईपीएलमा भाग लिन सक्ने छैनन्। यस हप्ताको सुरुमा ब्रुकले लगातार दोस्रो सिजनको लागि आफूलाई आईपीएलबाट अनुपलब्ध घोषणा गरे र दिल्ली क्यापिटल्स र उनीहरूका समर्थकहरूसँग बिना शर्त माफी मागे।
एजेन्सीका अनुसार बीसीसीआईका एक अधिकारीले एउटा नियम लागू गरिएकोले यो प्रतिबन्ध २०२५ र २०२६ संस्करणसम्म कायम रहने बताए । बीसीसीआईको दिशानिर्देश अनुसार लिलामीमा छनोट भएपछि प्रतियोगिताबाट फिर्ता लिने कुनै पनि विदेशी खेलाडी (चोट लागेको अवस्थामा बाहेक) दुई सिजनको लागि आईपीएलबाट प्रतिबन्धित हुनेछ।
गत वर्ष फ्रान्चाइजीहरूसँग साझा गरिएको बीसीसीआईको कागजात अनुसार कुनै पनि विदेशी खेलाडी जसले लिलामीको लागि आफूलाई दर्ता गर्छ र छनोट भएपछि प्रतियोगिता सुरु हुनुभन्दा पहिले आफूलाई अनुपलब्ध घोषित गर्छ भने उसलाई आईपीएल र आईपीएल लिलामीबाट दुई सिजनको लागि प्रतिबन्ध लगाइनेछ।
ब्रुकले आफ्नो इङ्गल्याण्ड करियरमा ध्यान केन्द्रित गर्न आईपीएल २०२५ बाट आफ्नो नाम फिर्ता लिने निर्णय गरे। साथै, २०२४ मा उनले आफ्नी हजुरआमाको मृत्युका कारण प्रतियोगिताबाट बाहिरिने निर्णय गरे। उनले यस हप्ता सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले आगामी आईपीएलबाट फिर्ता लिने निर्णय गरेको छु। म दिल्ली क्यापिटल्स र उनीहरूका समर्थकहरूसँग बिना शर्त माफी चाहन्छु। यो इङ्गल्याण्ड क्रिकेटको लागि महत्त्वपूर्ण समय हो।’
उनले अगाडि लेखे- ‘म आगामी शृङ्खलाको तयारीमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न चाहन्छु। मलाई थाहा छ सबैले यो बुझ्दैनन्। मलाई त्यस्तो आशा पनि छैन, तर मलाई जे सही लाग्छ त्यही गर्नुपर्छ। मेरो लागि मेरो देशको लागि खेल्नु सधैं मेरो प्राथमिकता र ध्यानको केन्द्र हुनेछ।’
इङ्गल्याण्डले जुनमा भारतसँग घरेलु टेस्ट शृङ्खला खेल्नेछ, त्यसपछि नोभेम्बरदेखि जनवरीसम्म बहुप्रतीक्षित एशेज शृङ्खला खेल्नेछ। ब्रुकको यो निर्णयपछि उनको आईपीएल करियरमा ठूलो धक्का लागेको छ। अब उनी २०२७ मा फर्कन सक्छन् कि सक्दैनन् भनेर हेर्न रोचक हुनेछ।







डिसी नेपाल







Facebook Comment